• काठमाडौं : विपक्षी दलहरूले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी ब्यापक बनाएका छन् । यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यसयताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन् ।

    आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेका भन्दै असन्तुष्टि व्यक्त गरे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताए। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उनको जिकिर छ ।

    अध्यक्ष राईले प्रधानमन्त्री शाहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक–पटक प्रश्नसमेत गरे ।

    यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले यस्तो माग गरेका हुन्।

    प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढङ्गले अघि बढाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उनको भनाइ छ । परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ ।

    यसैबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि सांसदहरूले उठेर विरोध गरेका छन् ।