• रुसको आक्रमणमा परि युक्रेनका धनाढ्य व्यापारी र उनकी श्रीमती मारिएका छन् । दक्षिणी सहर माइकोलाइभमा रुसले गरेको आक्रमणमा ७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको ज्यान गएको हो ।

    घरमा राति मिसाइल प्रहार हुँदा दम्पतीको ज्यान गएको बीबिसीले जनाएको छ । भाडाटुर्स्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनको सञ्चालक थिए। उनले ‘हिरो अफ युक्रेन’ अवार्ड समेत पाएका थिए ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको भत्सर्ना गर्दै भाडाटुर्स्कीको निधनले ठूलो क्षति पुर्याएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीको कार्यालयले जानाजानी रूसले भाडाटुर्स्कीलाई निशाना बनाएको आशङ्का गरेको छ ।

    दक्षिणी सहर माइकोलाइभ, ब्ल्याक सीमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह ओडेसा जाने मुख्य मार्गमा छ । युक्रेन र रुस गहुँ र अन्य अन्नका प्रमुख निर्यातकर्ता हुन् । युद्धका कारण निर्यातमा अवरोध हुँदा अहिले विश्वभर खाद्यान्नको मूल्य बढेको छ ।