• काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेपछि मलेसिया जाने नेपाली श्रमिकबाट अतिरिक्त शुल्क असुली विदेश पठाइएको प्रकरणमा राजनीतिक नेतृत्वको भूमिकामाथि समेत प्रश्न उठेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव अर्यालमाथि अनुसन्धान अघि बढिरहँदा तत्कालीन श्रममन्त्रीहरूको भूमिकामाथि पनि समान रूपमा अनुसन्धान हुनुपर्ने आवाज उठ्न थालेको छ।

    यस प्रकरणमा दुई पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ परिसकेका छन्। तर, रकम विदेश पठाइएको अवधिमा श्रम मन्त्रालयको नेतृत्व गरेका अन्य मन्त्रीहरूको भूमिका के थियो भन्ने प्रश्न अझै अनुत्तरित छ।

    सार्वजनिक भएका अनुसन्धानसम्बन्धी विवरणअनुसार नेपाल–मलेसिया श्रम समझदारीविपरीत नेपाली श्रमिकबाट विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाइएको र त्यसबाट संकलित करिब एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ विदेश पठाइएको आरोप छ। रकम विदेश पठाउने प्रक्रियामा चारवटा मन्त्रीस्तरीय निर्णय भएको विवरणसमेत सार्वजनिक भएको छ।

    यही निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा तत्कालीन मन्त्री, सचिव, सहसचिव र अन्य कर्मचारीमाथि अनुसन्धान भइरहेको छ।

    तर, यस प्रकरणले एउटा महत्वपूर्ण प्रश्न जन्माएको छ– मन्त्रालयको सचिवले गरेको निर्णय प्रक्रियामा मन्त्रीको भूमिका हुँदैन? नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वको जिम्मेवारी कर्मचारीको भन्दा कम हुन्छ?

    यहाँ पूर्वश्रममन्त्री तथा वर्तमान सभामुख डीपी अर्यालको प्रसङ्ग पनि जोडिन्छ।

    सार्वजनिक समाचारहरूमा डीपी अर्याल श्रममन्त्री रहेका बेला पनि मलेसियातर्फ रकम पठाइएको कारोबारको अवधि परेको उल्लेख छ। पूर्वश्रममन्त्री शरदसिंह भण्डारीको कार्यकालमा भएको कारोबारको विषय पनि अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ।

    तर, एउटा महत्वपूर्ण कानुनी भिन्नता बुझ्न आवश्यक छ। कुनै मन्त्रीको कार्यकालमा रकम विदेश गएको देखिनु र उक्त रकम विदेश पठाउने गैरकानुनी निर्णयमा मन्त्री स्वयं संलग्न हुनु एउटै कुरा होइन।

    अहिलेसम्म सार्वजनिक भएका अनुसन्धान विवरणमा रकम विदेश पठाउन गरिएका चारवटा मन्त्रीस्तरीय निर्णय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालसँग सम्बन्धित देखिएका छन्। डीपी अर्याल वा शरदसिंह भण्डारीकै कार्यकालमा त्यस्तै निर्णय भएको प्रमाण सार्वजनिक भइसकेको छैन।

    तर, कारोबारको अवधि उनीहरूको कार्यकालसँग जोडिन्छ भने त्यस अवधिका फाइल, पत्राचार, मन्त्रालयका निर्णय, राष्ट्र बैंकसँगको समन्वय, स्वीकृति र सम्बन्धित मन्त्रीको जानकारी तथा भूमिकाको अनुसन्धान हुनुपर्छ कि पर्दैन? अवश्य हुनुपर्छ।

    सभामुख जस्तो उच्च संवैधानिक पदमा पुगेको कारणले विगतमा भएको सम्भावित गैरकानुनी कार्यको अनुसन्धानबाट कसैले उन्मुक्ति पाउनु हुँदैन। त्यसैगरी, कुनै व्यक्तिको नाम सार्वजनिक चर्चामा आउँदैमा उसलाई दोषी ठहर गर्न पनि मिल्दैन। अनुसन्धानले प्रमाण र वास्तविक भूमिकाका आधारमा निष्कर्ष निकाल्नुपर्छ।

    यदि तत्कालीन सचिव एकनारायण अर्यालमाथि मन्त्रीस्तरीय निर्णय कार्यान्वयन तथा प्रक्रियामा संलग्न भएको आरोपमा अनुसन्धान हुन सक्छ भने त्यही निर्णय प्रक्रियामा संलग्न राजनीतिक नेतृत्वको भूमिका पनि जाँचिनुपर्छ। निर्णय कसले गर्‍यो, कसले प्रस्ताव अघि बढायो, कसले स्वीकृति दियो र कसले कार्यान्वयन गर्‍यो भन्ने तथ्य अनुसन्धानको केन्द्रमा हुनुपर्छ।

    ललिता निवास प्रकरणमा कर्मचारीहरू अनुसन्धान र अभियोजनको दायरामा पर्दा राजनीतिक नेतृत्वको भूमिकाबारे पनि प्रश्न उठेको थियो। कर्मचारीलाई मात्र जिम्मेवार बनाएर नीतिगत तथा राजनीतिक निर्णयकर्ताको भूमिका बेवास्ता गर्ने प्रवृत्तिले राज्यका अनुसन्धान निकायप्रतिको विश्वास कमजोर बनाउन सक्छ।

    मलेसिया जाने श्रमिकबाट अतिरिक्त रकम उठाएर विदेश पठाइएको प्रकरण सामान्य आर्थिक अनियमितताको विषय मात्र होइन। वैदेशिक रोजगारीमा जाने हजारौँ श्रमिकको आर्थिक शोषणसँग जोडिएको गम्भीर विषय हो।

    त्यसैले अनुसन्धानको दायरा पक्राउ परेका व्यक्तिहरूमा मात्र सीमित हुनु हुँदैन। रकम संकलनदेखि विदेश पठाउने निर्णय, स्वीकृति र कार्यान्वयनसम्मको सम्पूर्ण शृंखला केलाउनुपर्छ।

    पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ परिसकेका छन्। अब अनुसन्धानले अन्य कार्यकालमा भएका कारोबार र निर्णयलाई पनि प्रमाणका आधारमा जाँच्नुपर्छ। डीपी अर्याल र शरदसिंह भण्डारीको कार्यकालसँग जोडिएका कारोबारबारे पनि तथ्य सार्वजनिक हुनुपर्छ।

    कर्मचारीलाई मात्र पक्राउ गरेर राजनीतिक निर्णयकर्तालाई अनुसन्धानबाहिर राख्ने हो भने चयनात्मक न्याय (Selective Justice) को प्रश्न उठ्नु स्वाभाविक हुनेछ ।