• काठमाडौं : रुस र युक्रेनबीचको युद्ध ब्ल्याक सागरबाट भूमध्य सागरसम्म फैलिएको देखिएको छ ।

    लिबियाको बेन्गाजी बन्दरगाहमा रुसी जहाजहरूलाई लक्षित गरी युक्रेनले गरेको समुद्री ड्रोन आक्रमणपछि मस्कोले सुरक्षा र निगरानी व्यवस्था कडा पार्ने तयारी गरेको छ ।

    युक्रेनी समुद्री ड्रोन प्रक्षेपण गर्न प्रयोग गरिएको भनिएको मुख्य जहाज अर्थात् ‘मदरसिप’ को खोजीमा रुस जुटेको छ । यसका लागि समुद्री निगरानी बढाउने, लिबियामा रहेका आफ्ना सैन्य अखडाहरूको सुरक्षा मजबुत पार्ने र नयाँ राडार प्रणाली तैनाथ गर्ने योजना बनाइएको छ ।

    यस घटनाक्रमसँगै लिबियामा रुसी सैनिकका लागि सैन्य सामग्री बोकेर गइरहेको एउटा जहाजको लस्करले पनि बाटो परिवर्तन गरेको छ । रिपोर्टअनुसार, बेन्गाजी आक्रमण भएकै दिन उक्त लस्कर फर्किएको थियो । त्यसलाई रुसी नौसेनाको युद्धपोत ‘एडमिरल गोलोभ्को’ ले सुरक्षा दिइरहेको थियो । यसले युक्रेनको आक्रमणको प्रभाव बन्दरगाहमा रहेका जहाजमा मात्र सीमित नभई रुसको आपूर्ति व्यवस्थासम्म पुगेको संकेत गरेको छ ।

    रुसले कसरी अघि बढाउँदैछ जवाफी तयारी ?
    फ्रान्सको गुप्तचर मामिलासम्बन्धी वेबसाइट ‘इन्टेलिजेन्स अनलाइन’ का अनुसार रुसले आफ्नो ‘आईएल–३८’ समुद्री निगरानी विमान त्यस क्षेत्रमा तैनाथ गर्ने तयारी गरेको छ । समुद्रमा जहाज र पनडुब्बीहरूको गतिविधि निगरानी गर्नु यस विमानको मुख्य काम हो । करिब १३ घण्टासम्म लगातार उडान भर्न सक्ने यस विमानमा विभिन्न अत्याधुनिक सेन्सर जडान गरिएका छन् ।

    युक्रेनले समुद्री ड्रोन प्रक्षेपण गर्न प्रयोग गरेको सम्भावित मदरसिप पत्ता लगाउनु र भविष्यमा यस्ता आक्रमण हुन नदिनु रुसको मुख्य उद्देश्य रहेको बताइएको छ ।
    यसैगरी, रुसले पूर्वी लिबियामा सक्रिय खलिफा हफ्तारको सेनालाई ‘मोनोलिथ–बी’ समुद्री निगरानी राडार उपलब्ध गराउने तयारी गरेको छ । यी राडारले तटीय क्षेत्र तथा समुद्रमा हुने गतिविधिमाथि निगरानी राख्न मद्दत गर्नेछन् ।

    बेन्गाजी आक्रमणमा के क्षति भयोर ?
    युक्रेनको सुरक्षा सेवा (एसबीयू) ले आइतबार लिबियाको बेन्गाजी बन्दरगाहमा रहेका रुसी जहाजहरूलाई समुद्री ड्रोनमार्फत निशाना बनाएको दाबी गरेको थियो ।
    युक्रेनी दाबीअनुसार, आक्रमणमा रुसी नौसेनाको ‘प्रोजेक्ट २०३८० स्टेरेगुस्ची’ श्रेणीको युद्धपोत ‘मर्करी’ डुबेको छ भने मालवाहक जहाज ‘एमभी अंगारा’ मा क्षति पुगेको छ । युक्रेनले आक्रमण एउटा मदरसिपबाट सञ्चालन गरिएको बताए पनि उक्त जहाजको पहिचान र अवस्थिति सार्वजनिक गरेको छैन ।
    यसैबीच, लिबियाली राष्ट्रिय सेना ९एलएनए० का अधिकारीहरूले आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएका छन् । हफ्तारको सेनाले युक्रेनविरुद्ध जवाफी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

    रुसका लागि लिबिया किन महत्त्वपूर्ण छ ?
    लिबियामा रुसको बढ्दो चासो भूमध्य सागर र अफ्रिकामा आफ्नो सैन्य उपस्थिति कायम राख्ने रणनीतिसँग जोडिएको छ । सन् २०२४ मा सिरियाका राष्ट्रपति बसर अल–असदको सरकार पतन भएपछि त्यहाँ रुसको सैन्य उपस्थिति कमजोर भएको छ ।

    सिरियाको हमिमिम र टार्टस सैन्य अखडामा रुसको सीमित उपस्थिति अझै कायम रहे पनि भूमध्य सागर र अफ्रिकामा आफ्ना सैन्य अभियान सञ्चालन गर्न आवश्यक पर्ने आपूर्ति तथा लजिस्टिक्सको ठूलो हिस्सा अब लिबियातर्फ सरेको बताइएको छ ।

    रुसले लामो समयदेखि खलिफा हफ्तारको नेतृत्वमा रहेको सैन्य बललाई समर्थन गर्दै आएको छ । सन् २०२० मा हफ्तारको सेनालाई सहयोग गर्न रुसले ‘मिग–२९’ लडाकु विमानसमेत पठाएको थियो ।

    बेन्गाजी आक्रमणपछि पूर्वी लिबियामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘इन्टेलिजेन्स अनलाइन’ का अनुसार हफ्तारले बन्दरगाहको सुरक्षाका लागि आफ्नो सेनाको ‘२०औँ स्पेसल अपरेसन्स बटालियन’ का सैनिक परिचालन गरेका छन् ।

    यस बटालियनका सैनिकहरूले बेलारुसमा रुसी निजी सैन्य कम्पनी ‘वाग्नर’ का पूर्वसदस्यहरूबाट ड्रोन युद्धसम्बन्धी तालिम लिएका थिए । बन्दरगाहको सुरक्षाका लागि रुसी र लिबियाली एफपीभी ड्रोन अपरेटरहरूको टोलीसमेत परिचालन गरिएको छ ।

    युक्रेनको ‘सार्गन ३०००’ समुद्री ड्रोनबाट हुन सक्ने सम्भावित आक्रमण रोक्न रुसका ‘ओर्लान–१०’ निगरानी ड्रोनसमेत तैनाथ गरिएको रिपोर्टमा उल्लेख छ ।

    युक्रेनविरुद्ध असन्तुष्टि, अन्तर्राष्ट्रिय छानबिनको माग
    बेन्गाजी आक्रमणपछि लिबियाका प्रमुख राजनीतिक तथा सैन्य शक्तिहरूले असन्तुष्टि व्यक्त गरेका छन् । उत्तरपश्चिमी लिबियामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रिय एकता सरकारको शासन छ भने पूर्वी लिबिया र बेन्गाजीमा हफ्तार नेतृत्वको एलएनएको नियन्त्रण छ ।

    हफ्तारको सरकारले युक्रेनमाथि लिबियाको सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाउँदै घटनाको अन्तर्राष्ट्रिय छानबिन गर्न माग गरेको छ । पश्चिमी लिबियामा युक्रेनी सैनिक, सैन्य विज्ञ वा सैन्य इकाईहरूको उपस्थितिसम्बन्धी रिपोर्टमाथि पनि छानबिन गरिने उसले जनाएको छ ।