

-
काठमाडौं । नेपालमा अहिले पत्रकारहरू सडकमा छन्, शिक्षकहरू आन्दोलनको तयारीमा छन्, किसान संगठनहरू आफ्ना माग अघि सारिरहेका छन्, राजनीतिक दलहरूले पनि सडक संघर्षको भाषा बोल्न थालेका छन्।
वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, श्रमिकका समस्या, राज्यका निकायप्रतिको अविश्वास र विभिन्न व्यक्तिसँग जोडिएका विवादले यो असन्तुष्टिको वातावरणलाई थप जटिल बनाइरहेका छन्।
पत्रकार : प्रेस स्वतन्त्रतादेखि श्रम अधिकारसम्म
नेपाल पत्रकार महासंघले मंसिर १ गते नै आन्दोलन घोषणा गरेको थियो। समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याइएको घटनामा कारबाही नभएको र पत्रकारलाई सञ्चारगृहबाट जबर्जस्ती निष्कासन गरिएको महासंघको आरोप छ।
मंसिर १० मा महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै मंसिर १३ देखि २० सम्म राजनीतिक दलका कार्यालयमा धर्ना र देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो। सत्तारूढ रास्वपादेखि कांग्रेस, एमाले र अन्य दलका कार्यालयसम्म धर्ना दिने कार्यक्रम राखिनु आफैँमा राजनीतिक रूपमा अर्थपूर्ण छ।
यस आन्दोलनको अर्को महत्वपूर्ण पक्ष आर्थिक हो। पत्रकारको रोजगारी असुरक्षित हुनु, सञ्चारगृहले श्रम अधिकार पालना नगर्नु, लोककल्याणकारी विज्ञापनको रकममा विवाद हुनु र सञ्चारमाध्यमको आर्थिक संकटले पत्रकारिताको व्यावसायिक भविष्यलाई प्रभावित गरिरहेको छ।
अर्थात् यो केवल अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन होइन, पत्रकारको रोजीरोटी र सञ्चार उद्योगको आर्थिक संरचनासँग पनि जोडिएको विषय हो।
शिक्षक : सात बुँदे माग र शैक्षिक क्षेत्रको असन्तुष्टि
मंसिर १३ गते शिक्षक महासंघले सातबुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले सरकार शिक्षक तथा कर्मचारीका समस्याप्रति संवेदनशील नभएको आरोप लगाएको छ।
शिक्षकको आन्दोलनको आर्थिक प्रभाव पत्रकारको आन्दोलनभन्दा फरक हुन्छ। विद्यालय बन्द हुने अवस्था आएमा प्रत्यक्ष रूपमा विद्यार्थीको पढाइ प्रभावित हुन्छ। अभिभावकको अतिरिक्त खर्च बढ्छ, निजी ट्युसन र वैकल्पिक शिक्षाको आवश्यकता बढ्न सक्छ र शैक्षिक पात्रो प्रभावित हुन्छ।
शिक्षकको सेवासुविधा, वृत्ति विकास र विद्यालय शिक्षाको संस्थागत व्यवस्थापनमा देखिने समस्या समाधान नगरी आन्दोलन रोक्ने प्रयासले दीर्घकालीन समाधान दिँदैन।
किसान : उत्पादन लागत, बजार र बक्यौताको आन्दोलन
राष्ट्रिय किसान सञ्जालले मंसिर ११ गते सरकारसमक्ष ११ बुँदे माग अघि सारेको छ। ती मागमा उत्पादन लागत घटाउने, किसानलाई उचित मूल्य दिने, बाढीपीडित किसानलाई राहत, मल, बीउ, सिँचाइ र विद्युत् सुविधा उपलब्ध गराउने, निर्व्याजी कर्जा तथा उत्पादन अनुदान दिने विषय छन्।
त्यस्तै, दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउनुपर्ने, दूध बिक्रीको बक्यौता तत्काल भुक्तानी गर्नुपर्ने र उखुको समर्थन मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ निर्धारण गर्नुपर्ने माग पनि उठाइएको छ।
नेपालमा कृषि उत्पादन बढाउने भाषण धेरै हुन्छन्। तर उत्पादन लागत, बजारको सुनिश्चितता, भुक्तानी र बाली क्षतिको बीमा जस्ता विषयमा किसानले निरन्तर संघर्ष गर्नुपर्ने अवस्था छ। किसानको असन्तुष्टि सडकमा पुग्नु भनेको खाद्य आपूर्ति, ग्रामीण रोजगारी र कृषि लगानीको भविष्यसँग जोडिएको विषय हो।
नेवार समुदायको विरोध :
नेवार समुदायका ४० थरलाई दलितको सूचीमा राखिएको निर्णयको विरोधमा नेवार समुदायका अगुवाहरू आन्दोलित भएका छन्। उक्त निर्णय फिर्ता नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन्।
शनिवार ऐतिहासिक असन डबलीमा भेला भएका नेवार समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले हचुवाको भरमा गरिएको उक्त सूचीकरण तत्काल सच्याउन माग गरेका थिए ।
नेवार अगुवाहरुसँगै उभिएर नेपाली कांग्रेस काठमाडौँ महानगरका सभापति सुशन वैद्यले समुदायका विज्ञ, गुठी र सरोकारवालासँग कुनै परामर्श नगरी तथा समाजशास्त्रीय एवं वैज्ञानिक अध्ययनबिनै हचुवाको भरमा दलित सूचीमा राख्नु अपरिपक्व र अन्यायपूर्ण भएको बताए ।
राष्ट्रिय दलित आयोग र सरकारले ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको समुदायभित्र बिना आधार विभाजन र वर्गीकरण थोपर्न खोजेको आरोप पनि उनले लगाए ।
राजनीतिक दलको सडक तयारी :
अहिले आन्दोलनको वातावरणलाई थप जटिल बनाउने पक्ष राजनीतिक दलहरूको सक्रियता हो।
इनम सापकोटा प्रकरणमा सभापति गगन थापालाई मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले सरकारसंग निकै आक्रोशित भएको छ । सरकारले नियोजितरुपमा सभापति थापालाई फसाउने र कांग्रेसको आधिकारिकता विवादमा अदालतलाईसमेत प्रभावित गर्न खोजेको आशंकामा कांग्रेसले सरकार विरुद्ध सदन र सडकबाट आन्दोलन चर्काउने तयारी गरिरहेको छ ।
सरकारप्रति शुरुदेखि नै आक्रामक रहँदै आएको नेकपा एमालेको मंसिर ३ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले २१ बुँदे प्रस्ताव पारित गर्दै आवश्यक परे लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ। महँगी नियन्त्रण र बाढीपीडितको पुनःस्थापनाजस्ता विषय पनि प्रस्तावमा समेटिएका छन्।
संसदको चौथो ठूलो दल नेपाली कम्युनिष्ट पार्टीले पनि एमालेसँग मिलेर वा एक्लै भए पनि आन्दोलन गर्ने तयारीसहित देशव्यापीरुपमा पार्टीका आन्तरिक कार्यक्रमहरुलाई तीब्रता दिइरहेको छ ।
विपक्षी दलहरूले संसद् र सडक दुवैबाट सरकारमाथि दबाब दिने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ। न्यायालयको अवस्था, प्रधानन्यायाधीश नियुक्तिको विवाद, महँगी र सुकुम्बासी समस्यालाई उनीहरूले उठाउने बताएका छन्। विभिन्न दलले आफ्ना भ्रातृ संगठन परिचालन गर्ने तयारीसमेत गरिरहेका छन्।
इनम सापकोटा प्रकरण :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ३० वर्षीय इनम सापकोटासँग जोडिएको प्रकरणले छोटो समयमै राज्यका संवेदनशील निकायहरूको कार्यशैली, गोपनीयता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
सुरुमा उच्च तहको पहुँच, मुद्दा मिलाउने वा सरुवा–बढुवामा प्रभाव पार्ने संवाद र सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैंक ऐनसम्बन्धी अनुसन्धानबाट चर्चामा आएको यो प्रकरण पछिल्ला दिनमा ‘दबाबमा बयान गराइएको’ आरोप र संसदीय छानबिन समितिको माग सँगै नयाँ मोडमा पुगेको छ।
अनुसन्धानको गोपनीयता र अडियो–भिडियो चुहावटको संकटप्रहरी हिरासतमा लिइएका व्यक्तिको सोधपुछका अडियो–भिडियो र मोबाइल संवादहरू बाहिरिनुले अनुसन्धान प्रणालीको ‘चेन अफ कस्टडी’ र गोपनीयतामाथि गम्भीर धक्का पुर्याएको छ। पूर्वसुरक्षा अधिकारीहरूले नै सोधपुछ कक्षका कुरा कसरी बाहिरिन्छन् भन्ने प्रश्न उठाउनुले प्रहरीको आन्तरिक नियन्त्रण मात्र होइन, राज्य संयन्त्रभित्रको सूचना अनुशासन कमजोर बनेको देखाउँछ।
सापकोटाले जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले प्रकरणलाई थप पेचिलो बनाएको छ। आफूलाई पक्राउपछि अज्ञातस्थलमा राखिएको, आँखामा पट्टी बाँधेर धम्की दिइएको र आफूले भन्दै नभनेको वा नजानेको विषयमा प्रभावशाली व्यक्तिहरूविरुद्ध बयान दिन बाध्य पारिएको उनको दाबीले अनुसन्धानको निष्पक्षतामाथि शंका उब्जाएको छ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवरासहितका केही न्यायाधीशहरु, कांग्रेस सभापति गगन थापासहितका केही नेताहरु र मिनबहादुर गुरुंगसहितका केही व्यवसायीहरु पात्रहरूसँग जोडिएका संवाद र आर्थिक कारोबारका चर्चा बाहिरिएपछि न्यायिक मर्यादा र प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठिरहेको छ । खासगरि प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको दवावमा प्रहरी प्रशासनलाई व्यापक दुरुपयोग गरिएको, न्यायालयलाई समेत प्रभावमा पारिएको भन्दै सरकार विरोधि पक्ष आक्रोशित देखिएको छ ।
यसै पृष्ठभूमिमा नेपाली कांग्रेसले राज्यशक्तिको दुरुपयोग वा नियोजित फसाउने प्रयास भएको हो कि भन्ने प्रश्न उठाउँदै निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेपछि यो विषय अब कानुनी दायराबाट सिधै राजनीतिक र संसदीय टकरावको केन्द्रमा पुगेको छ।
वैदेशिक रोजगारी ठगी : सरकारी नियतमाथि प्रश्न
अहिलेको असन्तुष्टिको वातावरण बुझ्न वैदेशिक रोजगारीको ठगी प्रकरण पनि उत्तिकै महत्वपूर्ण छ। मंसिर २ गते मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम उठाउने र त्यसलाई मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परे। पक्राउ पर्नेमा पूर्वमन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्व मुख्य सचिव एक नारायण अर्याल, तत्कालीन मन्त्रालयका सचिव विनोद केसी, उमेश ढुंगाना, राजीव पोखरेल, निर्मला गुरुङ अन्य अधिकारीहरू पनि छन्।
सीआईबीले सार्वजनिक गरेको विवरणअनुसार यस प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार (८) पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ बराबरको रकम जोडिएको छ। प्रहरीका अनुसार यसमा ठगी, संगठित अपराध र विदेशी मुद्रा अपचलनसम्बन्धी अनुसन्धान भइरहेको छ।
तर, सरकारले यही प्रकरणमा जोडिएका अन्य दुई तत्कालिन श्रम मन्त्रीहरु डिपी अर्याल (हाल सभामुख) र शरदसिंह भण्डारी माथि भने सामान्य छानबिन पनि नगरेको भन्दै चौतर्फीरुपमा प्रश्न उठिरहेको छ । यस्ले पनि सरकार विरुद्धको माहोललाई थप तताइरहेको छ । प्राकृतिकरुपमा मौसम चिसिँदै गैरहेको बेला राजनीतिकरुपमा बढ्न लागेको आन्दोलनको रापताप तथा सरकार र सरकार विरोधी शक्तिबीचको द्धन्दले कस्तो परिणाम देला त्यो भने सम्भवतः जाडोको मौसम सकिने बेलामा मात्र स्पष्ट हुनेछ ।
News Desk 0 response आइतवार, मंसिर १४, २०८३

सम्बन्धित शीर्षकहरु
-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


