• रुसले सैन्य गतिविधि धेरै कम गर्ने घोषणा गरेको भए पनि उत्तरी शहर चेर्निहिभमा बमबारी गरेको युक्रेनले बताएको छ ।

    टर्कीमा भएको वार्तामा प्रगति भएको भन्दै रुसी रक्षा मन्त्रालयले हिजो मङ्गलवार युक्रेनको राजधानी किएभ र चेर्निहिभ सहरमा सैन्य गतिविधि कटौती गर्ने घोषणा गरेको थियो । चेर्निहिभका गभर्नर भिचास्लाभ चाउसले रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गर्नुभएको बीबीसीले जनाएको छ ।

    युक्रेन र रुसका प्रतिनिधिहरूले हिजो टर्कीको इस्तानबुलमा तीन घण्टा लामो वार्ता गरेका थिए । हिजोको वार्तालाई फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि भएका वार्तामध्ये प्रगतिको पहिलो सङ्केतको रूपमा लिइएको थियो ।

    यसैबीच युद्ध सुरु भएपछि ४० लाख युक्रेनीहरूले देश छाडिसकेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घ शरणार्थी एजेन्सी (यूनएचसीआर) ले जनाएअनुसार चार लाख १९ हजारभन्दा धेरै युक्रेनीहरू गएको फेब्रुअरी २४ को आक्रमणपछि देशको सिमाना पार गरी भागेका थिए । तीमध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्यान्ड गएका थिए ।