• पृष्ठभूमि –

    सिन्धु सोसाईटी अमेरिका सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्नेहरुको साझा संस्था हो । सिन्धुपाल्चोकबाट कर्मका लागि अमेरिका पुग्नुभएको दाजुभाई तथा दिदीबहिनीहरुले जन्मेको थलोमा केही सेवा गर्ने हेतुले सन् २०१० मा यो संस्था स्थापना गर्नुभएको हो । यो संस्थाले स्थापनाको सुरुवातदेखि नै सिन्धुपाल्चोकका जेहेन्दार तथा अशक्त,असहाय बिद्यार्थीहरुलाई निजी बिद्यालयमा स्तरीय शिक्षा दिने उदेश्यले निशुल्क पढाईरहेको छ । जिल्लामा भईपरीआउने अन्य दुःखमा पनि सेवा गरिरहेको छ । बिशेष गरी बिदेशमा बसेर मातृभूमिको सेवा गर्नु नै यो संस्थाको उदेश्य हो ।
    शिक्षा र संस्था
    हाम्रो संस्थाको नारा नै जीवनका लागि शिक्षा भन्ने छ । जव २०७२ मा बिनाशकारी भुकम्प आयो । सिन्धुपाल्चोकमा धेरै असर भयो । धेरै जनधन क्षति भयो । धेरै बालबालिका टुहुरा भए । उनीहरुलाई पालनपोषण गर्ने र शैक्षिक सेवा दिने काम गरियो । सुरुमा सात जना बिद्यार्थी काठमाडौं ल्याएर आवासीय सुबिधासहित पढाईयो । अहिले यो क्रम बढेर धेरै भएको छ । संस्थाको सहयोगमा अध्ययन गर्नेहरुले उच्च शिक्षासम्म अध्ययन गरेर थप अध्ययनको लागि बैेदेशिक यात्रा पनि तय गर्नुभएको छ । साथै केहीले नेपालमै रोजगारीको अवसर पाउनुभएको छ ।

    बर्तमान कार्यसमिति


    सन् २०२२ मा चौथो अधिबेशनले यो कार्यसमिति चयन गरेको हो । बिगतमा झै यो कार्यकालमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरियो । संस्थाको सहयोगमा अध्ययन गरिरहेका बिद्यार्थीलाई १२ कक्षासम्म अध्ययन गराउने निर्णय अनुरुप बिद्यार्थीका लागि आवश्यक पहल सुरु गरिएको हो । त्यतिवेला ११ जना बिद्यार्थी मात्र निशुल्क रुपमा पढ्ने व्यवस्था गरिएको थियो । तर,अहिले २७ जना बिद्यार्थीलाई पढाईरहेका छौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको चण्डेश्वरी कोर्डिग स्कुलमा १४ जना र मेलम्चीमा रहेको प्रगती स्कुलमा १२ जना बिद्यार्थी आवासीय रुपमा पढाईरहेका छौं । एकजना काठमाडौंको माउण्ट कैलाश स्कुलमा पनि पढाईरहेका छौं ।मुख्यतः जेहेन्दार, अशक्त असहाय बिद्यार्थीलाई पहिलो प्राथमितामा राखिएको छ ।
    शिक्षा मात्र होईन अरु क्षेत्रमा पनि सेवा भएको छ । बाढी पहिरो पीडितलाई पनि सहयोग गरेका छौं । बिपत्का बेला तत्काल राहतको व्यवस्था गरिएको छ । अरु राहत क्षणिक हुने रहेछ । तर, शिक्षामा लगानीले भविष्यमा धेरै सहयोग हुने रहेछ । शिक्षाको सेवा दीर्घकालिन हुन्छ भनेर यो क्षेत्रमा चासो राखिएको हो । एउटा बच्चा शिक्षित हुनु भनेको उसको परिवार अनि समाज परिवर्तन हुनु रहेछ । अनि भविष्यमा उसले आस्रित परिवारलाई पनि आर्थिक स्तर बढाउने रहेछ । त्यसकारण पनि शिक्षामा सेवा गर्न आवश्यक छ । सुरुमा सिन्धुपाल्चोकका सीमित बिद्यार्थीलाई पढाउने गरिएको थियो । जिल्लाका सवै ठाउँ पुग्ने रहर थियो । यस पटकदेखि जिल्लाका सवै पालिका बाट बालबालिका छनौट गरेर पढाउन थालिएको छ ।
    त्यो वाहेक पैसाको अभावमा पढ्नबाट बञ्चित धेरै केटाकटी छन् । उनीहरुको भविष्यका लागि पनि हाम्रो सानो सहयोग धेरै ठुलो हुनसक्छ । हुनत नेपालमा शिक्षा निशुल्क छ भन्नेहरु पनि छन् । तर, हामीले १२ कक्षा सम्म स्तरीय शिक्षा दिन खोजेको हो । खाना,बस्न, लाउनको व्यवस्था सहित पढ्ने वातावरण गरिएको हो । त्यसोत संस्थाको पहलमा निशुल्क अध्ययन गरिरहेका बिद्यार्थीहरुका लागि जाडो र गर्मीयाममा घरायसी पोशाकको प्रबन्ध पनि गरिएको छ ।
    २०२२ देखि नै सिन्धुपाल्चोक जिल्लाबाट प्रवेशिका परिक्षामा उत्कृष्ट स्थान हासिल गर्ने बिद्यार्थाीलाई नगदसहित सम्मान गर्ने क्रम सुरु गरिएको छ । यो क्रम निरन्तर चलिरहेको छ ।

    नेपालीमा बस्नेबाट पनि सहयोग


    पछिल्लो समय संस्थाले गरेको कामबाट प्रभावित भएर सिन्धुपाल्चोकका बासिन्दाहरुले पनि असहाय बिद्यार्थीहरुका लागि अध्ययन गर्न सहयोग गर्न थाल्नु भएको छ । यो हाम्रो खुशीको कुरा हो । जसले गर्दा धेरै भन्दा धेरै बद्यिार्थीले पढ्न पाएका छन् ।
    अहिले नेपालमा बस्ने व्यवसायी साथी र संस्थाले पनि बिद्यार्थी जिम्मा लिने प्रकृया सुरु भएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा क्षमादेबी ग्रुपका अध्यक्ष राजकुमार बस्नेतले एकजनाको जिम्मा लिनु भएको छ । अरु समाजसेवीले पनि चासो राख्नु भएको छ । समाजसेवी दलबहादुर रुम्वा, नेपाल हिमालय सीमापार वाणिज्य संघले पनि एकजना बिद्यार्थी पढाउन सहकार्य गर्ने बचन दिनुभएको छ । त्यसैगरी अमृतकुमार खड्का,मोहनबिक्रम कार्कीले पनि बिद्यार्थी पढाउने जिम्मा लिनु भएको छ । यसलाई हामीले थप उपलब्धीका रुपमा मानेका छौं ।


    आगामी योजना


    अब यही अमेरिकामा बस्नेहरुका लागि पनि सेवा गर्ने योजना बनाईरहेका छौं । यस सालदेखि अमेरिकामा रक्तदान कार्यक्रम पनि सुरु गरिएको छ ।
    प्रवासमा बस्नेहरुका लागि सहयोग गर्नका लागि बिभिन्न योजना बनिरहेको छ । अमेरिका बस्ने सिन्धुपाल्चोकका जनताका लागि सेवा गर्ने योजना बनाउँदैछौं । कर्मथलोमा भेटिएकाहरुको पीडामा लाग्नेछौं । पहिलो प्राथमिता संस्थाको आफ्नै भवन निर्माण गर्ने योजना छ । यहाँ सिन्धुपाल्चोकका हजारौं मान्छे छन् । बिरामी पर्दा काम गर्न नसक्दा भोकै पर्ने अवस्था छ । एकदिन कमाएन भने भोकै बस्न पर्ने अवस्थामा पनि साथीहरु हुनुहुन्छ । उहाँहरुलाई सहयोग गर्न पुँजी निर्माण गर्ने योजना पनि संस्थाको छ ।


    अन्त्यमा,
    समाजसेवा आफैमा गहकिलो काम हो । यसका लागि समय र पुँजी दुवै आवश्यक हुन्छ । यसको लागि समुह पनि आवश्यक हुन्छ । मेरो नेतृत्वमा रहेको समितिलाई यहाँसम्म आईपुग्न धेरै महानुभावको साथ र सहयोग छ । यसका लागि म सधैप्रति आभारी छु । सिंगो कार्यसमितिको सहयोग नभएको भए यो काम गर्न संभव थिएन । त्यसकारण पनि कार्यसमितिका सवैप्रति आभार र धन्यवाद प्रकट गर्दछु । साथै बिद्यार्थीलाई अध्ययनका लागि स्पोन्सर गर्नुहने सवैप्रति धन्यवाद व्यक्त गर्दछु ।
    धन्यवाद

    सूर्य खड्का
    अध्यक्ष