• सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बिबिध निर्माणका काम भएका छन् । केही काम हुन बाँकी छ । यहाँ भएको कामको आलोचना गर्ने पनि छन् । साथै समर्थन गर्नेहरु पनि छन् । यी बिषयमा मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले पत्रकार माधव नेपालसँग खुलेर कुरा गरेका छन् । सोही कुराकानीको सम्पादित अंश
    विकास निर्माणका कुरा
    नगरसभाद्वारा बनेका जति पनि योजनाहरु छन्, ती अगाडि बढाइरहेका छन् । ती योजना अगाडि बढाउने क्रममा कार्यपालिकाले पनि केही थप निर्णयहरु गरेको छ । १० लाख रुपैयाँसम्मको काम उपभोक्ता समितिमार्फत गर्ने निर्णय छ । १० लाखभन्दा माथिको काम इबिडिङको माध्यमबाट गर्ने निर्णय भएको छ । १० लाखभन्दा तल अर्थात् ५ लाखसम्मको कामको योजना बनाउने, सम्झौता गर्ने कामको जिम्मा वडालाईनै दिईएको छ । जति पनि उपभोक्ता समितिमार्फत कामहरु हुन्छन्, ती चाहिँ हामी नगरपालिकाकै माध्यमबाट अगाडि गर्ने गरेका छौं । यसभित्र कृषि,पर्यटन, स्वास्थ्य र शिक्षासँग सम्बन्धित काम पर्छन् ।
    जनताको जीवनसँग जोडिने अरु सबै किसिमका कामलाई क्रमिकरुपमा अगाडि बढाइरहेका छौँ । यस साल धेरै वर्षा भयो । विपद्हरु धेरै निम्तिएका छन् । त्यसैले यससँग सम्बन्धित काम पनि सँगसँगै अगाडि बढिरहेको छ । बर्खाबाट बिग्रिएका मोटरबाटोहरु निर्माणको चरणमा छ । खानेपानी, सिँचाइका कामहरु निर्माण चरणमा छन् । भूकम्पपछि निर्माण भएका घरहरु पनि भत्किने अवस्थामा पुगिसकेका छन् । त्यसैले प्राविधिक अध्ययनको काम पनि शुरु भइसकेको छ । त्यसलाई नै संरक्षण गरेर हुन्छ या संरचना नै नया बनाउनुपर्ने हो, प्राविधिक रिपोर्टका आधारमा काम अगाडि बढिरहेका छन् । त्यसैले विपद्का निम्ति नगरसभाद्वारा छुट्याइएका बजेटले पुग्ने अवस्था छैन तर काम भने अगाडि बढिनैरहन्छ । हामी कम्तीमा आगामी पुसभित्र हिउँदे नगरसभा गरिसक्छौँ र नगरसभाद्वारा बजेट अनुमोदन गर्ने गरी विपद्का कामहरु अगाडि बढिरहेको छ ।
    विकास र चुनौती
    चुनौती हिजो लामो समयसम्म उपभोक्ता समितिमार्फत काम भयो । चुनाव नहुँदा यस्तो भयो । यसले मानिसको प्रबृत्ति बिग्रेको रहेछ । उपभोक्त समितिमा बस्न हानथाप हुने अवस्था देखियो । यसलाई परिवर्तन गर्न आग्रहे भएको छ । जनताको चेतना र विकासको काम सँगसँगै लान नसक्नु चुनौतीको काम हो । कतिपय यस्ता प्रबृत्तिले समस्या पारेको छ ।
    कोरोना र विकास
    बिश्वनै आक्रान्त पारेको कोरोनाले नेपालमा पनि असर गरेको छ । यसले मेलम्ची नगरमा पनि असर त पु¥यायो । कतिपय विकास निमार्णको कामहरु रोकिएका छन् । ती रोकिएका कामहरु सम्पन्न गर्नका लागि चार महिना म्याद थपेका थपिएको छ । गत सालको जिम्मेवारी जति सबै सरेको छ । ती कामहरु सम्पन्न हुन्छ । जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यो गतिमा चाहिँ हुन सकेन । वर्षा र कोभिड हाम्रो विकासका लागि बाधक बनेका छन् । हामीले विभिन्न समस्यासँग जुध्दै काम अगाडि बढाइरहेकै छौँ ।
    प्रबिद्धता र काम
    पक्कै पनि चुनावका बेला धेरै प्रतिबद्धता भएका थिए । चुनावपछि यो वर्ष सम्पन्न हुँदा तीन वार्षिक योजना सम्पन्न हुन्छ । त्यसैले जति पनि प्रतिबद्धता थिए, त्यसको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बोलेका कुरा मात्र हैन, जनताको आवश्यकता र चाहनालाई समेत बुझेर काम भएको छ । बाँकी रहेका ३० प्रतिशत काम पनि अव चाडै सम्पन्न हुन्छ । पदावधिको अन्त्यसम्म झण्डै शतप्रतिशतको हाराहारीमा पुग्न सकौँला भन्ने अनुमान गरेका छाँै । यदि प्राकृतिक प्रकोपको कारण हामीले बनाएका संरचना वा विकासनिर्माणको काममा क्षति पुग्छ भने त्यो बेग्लै कुरा हो नत्र हामी हाम्रो लक्ष्यमा पुग्नै लागिसक्यौँ । मेलम्ची नगरपालिका र वडा कार्यालयसम्मको बाटालाई बाह्रै महिना चल्ने बनाउनका लागि काम भइरहेको छ । बसपार्क, फोहोर व्यवस्थापन, ग्रिनसिटी पार्क निर्माणको काम अन्तिम चरणमा छ र अब छिट्टै यो सम्पन्न हुन्छ । यस सँगसँगै मठमन्दिर र गुम्बा निर्माणको काम र मेलम्ची नगरपालिकालाई काठमाडौँसम्म जोड्ने सडकहरु हाम्रै प्रयत्नबाट पीच हुँदै छन् । मेलम्ची –जिरोकिलो, साँखु –मेलम्चीसम्मको सडकपिचको काम पनि लगभग शुरु भइसकेको छ । क्रमशः मेलम्चीदेखि नगरपालिकाकै वडा नम्बर ७ जाने दुई वटा सडक पिच हुँदै छन् । त्यसैले यस वर्षसम्म हामीले मुख्य काम ग¥र्यौँ । अबको वर्षदेखि हामीले गरेका काम देखिन थाल्छ र जनताले स्थानीय सरकार सँगसँगै विकास भएको महसुस गर्न थाल्नेछन् ।
    कर्मचारी संयन्त्र र जनप्रतिनिधि
    कर्मचारी र जनप्रतिनिधिको सम्वन्ध असाध्य राम्रो हुनु पर्छ । तर, केही स्थानीय सरकार र स्थायी सरकारबीच समस्या देखिएको छ । दुवैले आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर लाग्ने हो भने समस्या आउँदैन । मेलम्ची नगरपालिकाले पनि सोही अनुरुप काम गरेको छ । हामी स्थानीय सरकारको प्रतिनिधि र कार्यकारी अधिकृत केन्द्रीय सरकारको प्रतिनिधि हुने कारण केही समस्या देखिएका पनि छन् । यसलाई मिलेर समाधान गर्नुको बिकल्प पनि छैन ।
    नारा र काम
    मेलम्ची नगर समृद्धिको आधारः कृषि, पर्यटन, उद्योग र जलाधार’ भन्ने मूलनाराका साथ मेलम्ची नगरपालिकाले काम गरिरहेको छ । अहिलेसम्म नगरपालिकाका धेरै काम भएका छन् । विकास निर्माणको अवस्था तीब्र छ । मेलम्चीलाई समृद्ध बनाउन धेरै काम भएको छ ।
    मेलम्ची नगरपालिकाले गर्ने कामहरु भइरहेको छ । टेण्डरको काम भइरहेको छ । टेण्डरका लागि आएका निवेदनहरु स्वीकृत गर्ने कामहरु भएको छ । असारसम्म गर्ने कामहरुको योजना बनिरहेको छ । ती कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनका लागि हामी निरन्तर जुटिरहेका छौ ।
    मेलम्ची र पर्यटन
    पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माणको काम धमाधम छ । त्यसमा जिपिएस हाल्ने काम पनि भइरहेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४,५,६ तीन वटै वडालाई छोएको धौलेलाई प्रवद्र्धन गर्ने हिसाबले योजना बनाएका छौँ । जनैपूर्णिमाको दिन मेला लाग्ने धौले प्रचारप्रसारको हिसाबले ओझेलमा परेको महसुस भइरहेको छ । त्यसैले यसलाई पर्यटकीय गन्तव्य बनाउन लागिपरेका छाँै । पोखरी निर्माणको काम भइसक्यो र अब एउटा मन्दिर र एउटा स्तूप बनाउने योजना छ । त्यस्तै जलवायु सम्मेलन भएको वडा नम्बर ९ मा रहेको गुफाडाँडालाई पनि पर्यटकीय क्षेत्र बनाउने काम भइरहेको छ । पर्यटकहरुका लागि सहज होस् भन्नका लागि सिँढीं निर्माण भइरहेको छ । त्यस्तै मेलम्चीदेखि धौले र गुफाडाँडा जाने सडक मर्मत तथा व्यवस्थित बनाउनका लागि बजेट विनियोजन गरेर काम भइरहेको छ ।
    ब्यवस्थापनको पक्ष
    मेलम्ची बजारलाई व्यवस्थित बनाउनका लागि बजार पिच हुँदै छ । बजारकै छेउमा बसपार्क निर्माण भइरहेको छ । बजारमा भएका सबै सवारी साधन बसपार्कमा बस्नेबित्तिकै अव्यवस्थित पार्किङको अहिलेको समस्या हल हुन्छ । त्यस्तै सुरक्षित बजार बनाउनका लागि सिसिटिभी जडानका काम सकिएका छन् । शान्तिसुरक्षाको हिसाबले पनि उपयुक्त हुने खाले काम गर्दैछाँै । बजारमा पुराना शैलीका मन्दिर निर्माणकोे काम भइरहेको छ । त्यहाँ पनि नगरपालिकाले सहयोग गरेको छ । बजार व्यवस्थापन समिति गठन गरेर बजारलाई सुन्दर र सफा राख्न काम तीव्र गतिमा भएको छ ।
    नगरपालिकाले आफ्नो काम तीव्र गतिमा गरिरहेकै छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जिम्मेवारी पाएपछि सरकार हुने हो । सरकार आफैँले मात्र केही गर्ने हैन, यो कुरा सबैले बुझ्नुपर्छ र बुझेका पनि छन् । मलाई लाग्छ, कोही पनि व्यक्ति नगरपालिकाको कामप्रति असन्तुष्ट छैन । कुनै बेला कसैलाई चित्त बुझेन भने पनि नगरपालिकामा आएर गुनासो गर्न पाइन्छ । त्यो गुनासोको सम्बोधन गर्न हामी तयार छौँ । हाम्रो काम भनेकै जनतालाई सुखी र खुशी बनाउँदै नगरपालिकाको विकास गर्ने त हो नि ।
    रोजगारका बिषय
    स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि नगरपालिकाको कृषि क्षेत्रको कामलाई अगाडि बढाइरहेका छौँ, चाहे त्यो उत्पादनका क्षेत्रमा होस् या व्यापारको काममा होस् । तरकारी उत्पादन गर्नका लागि अनुदानको व्यवस्था गरिरहेका छौँ । पशुपालनका लागि बीमाको काम भइरहेको छ । मेलम्ची नगरपालिकाका शतप्रतिशत पशुको बीमा गर्ने योजनामा नगरपालिका लागिपरेको छ । विशेषगरी यस वर्ष गाई र भैँसीको बीमा गर्ने काम भइरहेको छ र आगामी दिनमा सबै पशुको बीमा हुन्छ । साथै गाईभैँसी ब्याइसकेपछि उनीहरुलाइ पोषणका निम्ति पैसा दिने काम भइरहेको छ । पाडापाडी या बाच्छाबाच्छीको फोटो लिएर वडा कार्यालय गएमा अनुदान पाइनेछ ।
    आगामी सपना
    । इन्द्रावती नदी किनारमा मेलम्ची स्वप्न सरोवर बनाउनका लागि डिपिआरको काम हुँदै छ । यस हिसाबले मेलम्ची अब सम्झिरहने खालको हुन्छ । यो ठूलो सपना हो । छिमेकी पालिकाहरुसँग मिलेर पर्यटक ल्याउनका लागि लागि काम गर्ने सपना रहेको छ । त्यसको हब चाहिँ मेलम्ची हुन्छ । त्यसपछि सम्पन्न मेलम्ची हुन्छ भन्ने सपना देखेका छौं ।