• तीन वर्ष अघि छोरा सन्तोषराज सिग्देलले बिबिए पास गरेर बिदेश जाने तरखर गरेपछि नारायणप्रसाद सिग्देललाई निक्कै चिन्ता जागेको थियो । नेपालको जनशक्ति बिदेश जान नहुने मान्यता राख्ने नारायणप्रसाद सिग्देल छोरालाई नयाँ ब्यवासायको खोजीमा निक्कै भौतारिए । ब्यवसायको संभाब्यता अध्ययन गर्दै राजधानी काठमाडौंसम्म पुगेका सिग्देलले नेपाली कागज उत्पादन गर्ने मनसाय गरे । तर, ब्यवसायको ज्ञान उनलाई थिएन । ब्यवसायको ज्ञान नभएका सिग्देललाई एकजना मिस्त्रीको सहयोगले हाते कागज उत्पादन गर्ने प्रेरणा मिल्यो । भन्छन्,‘नेपाल सरकारले यसको उचित ब्यवस्थापन गर्ने हो भने दुईलाख ब्यक्तिलाई रोजगार दिन सकिन्छ ।’
    बावियो र अर्गेलीको कच्चा पदार्थको प्रयोगद्वारा मौलिक प्रविधिबाट सजिलै बनाउन सकिने नेपाली कागजले बिदेशी कागजलाई सहज बिस्थापन गर्ने उनको तर्क छ । समाजसेवालाई पनि सँगै अघि बढाएका नारायणप्रसाद सिग्देल स्वदेशी उत्पादनलाई बढावा दिन सवै यूवालाई यो ब्यवसाय सुरु गर्न सुझाब पनि दिन्छन् ।
    कच्चा पदार्थ संकलन गर्नेदेखि कारखानामा काम गर्नेसम्म नेपाली कामदार समक्ष रहेको यो ब्यवसायमा काम गर्न थोरै सीपले पनि सकिने हुने उनले सुझाव दिए । ‘नेपालीहरु बिदेशमा जून काम गर्न पनि तयार हुन्छन् । तर, स्वदेशमा कामलाई घृणा गर्छन् ।‘, सिग्देल भन्छन्,‘यही कारण पनि देश विकास हुन नसकेको हो ।’
    कागजका लागि कच्चा पदार्थ बावियो दाङ्गका किसानहरुले र अर्गेली पूर्वको ताप्लेजुङ्ग र दोलखा जिरीका किसानहरुले उनको कारखानासम्म पु¥याउने गरेका छन् । यसरी बावियो र अर्गेली बेचेरै किसानहरुले बार्षिक लाखौं आम्दानी गर्न सफल भएका छन् । बजारमूल्य भने बावियोको प्रतिकेजी २० रुपैंया र अर्गेली प्रतिकेजी १२० रुपैंयासम्म छ ।
    तनहुँस्थित शुक्लागण्डकी नगरपालिका वडा नं. ४ मा रहेको उनको नेपाली कागज कारखानामा परिवारले नै काम गर्दै आएको छ । हाल उनको कारखानामा ३२ जोडी श्रीमान् श्रीमतीले आवासीय रुपमा काम गर्दै आएका छन् । मेहनतले काम गर्नेहरुले मनग्य आर्थिक उपार्जन गरिरहेका छन् । उनको कारखानामा काम गर्नेले केटाकेटी पढाउने,घरखर्च चलाउने र त्यसवाट वचेको केही रुपैयाँले घरघडेरी जोड्नेसम्मको आर्थिक उपार्जन गरेका छन् । काम गर्नेहरुले मासिक ४५ हजार सजिलै कमाएका छन् । कागजको कच्चा पदार्थ अर्गेलीको ब्यवसायिक खेती गरेमात्र पनि बार्षिक करोडौ आम्दानी गर्न सकिने ्सिग्देलको अनुभव छ । उनी भन्छन्, ‘विश्वमा अर्गेलीको धेरै माग छ । यसलाई त्यहाँ लैजान मात्र सक्ने हो भने बिदेशी पैसा नेपाल ल्याउन अरु केही गर्नु पर्दैन ।
    विषेश गरेर जापानमा नोट छाप्न प्रयोग हुने यो कागजलाई उत्पादनका लागि नेपाल सरकारले अझ केही सुविधा दिने हो भने बिदेश जाने यूवा शक्ति ठूलो मात्रामा रोक्न सकिन्छ । जापानमा मात्र गत बर्ष ७ करोड भन्दा बढीको अर्गेली निर्यात भएको अभिलेख छ ।
    जर्मन, बेलायत, अमेरिका लगायत विकसित मुलुकहरुले आफ्नो नोट छाप्न उच्च गुणस्तरीययुक्त अर्गेली बनस्पतीलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्दछन् । स्वदेशकै मौलिक उत्पादन रहेको नेपाली कागजलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिँदै लबिङ्ग पनि गरेका छन् । बिभिन्न उच्च ओहदाका ब्यक्तिलाइ भेटेर यसको महत्व पनि वताएका छन् । तर, यसले खास्सै उपलब्धि भएको छैन । आगामी दिनमा सरकार सञ्चालकले यसको महत्व बुझ्नेमा उनी आशाबादी छन् । उनले स्वदेशी उद्योग धन्दा नै देशको मेरुदण्ड भएको समेत बताए ।
    नेपालमा सजिलै पाइने कच्चा पदार्थ, नेपाली मौलिक प्रविधिबाट बन्ने नपाली कागजलाई प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ । यसका लागि उनी यूवाहरु जागरुक वनाउन पनि तयार छन् । नेपाल सरकारले तीनै तहका सरकारी कार्यालमा अनिवार्य नेपाली कागजको प्रयोग गर्ने कानून निर्माण गर्नु पर्ने उनको सुझाव छ । यसो भएमात्र पनि स्वदेशी उत्पादनको स्वदेशमा प्रयोग भएर आयातित सामान बिस्थापन गर्न सकिने दरिलो तर्क उनको छ ।
    नेपाल कै भीर पहरामा पाईने बावियो र नेपालकै जंगलमा पाईने अर्गेली खेर गईरहेकोमा चिन्तासमेत सिग्देललाई छ । उनी भन्छन्,‘पाखो, पखेरा, भीर जहीँ तही सजिलै उत्पादन हुने र कतिपय ठाउँमा त्यसै सडेर गलेर खेर पनि गईरहेको बाबियो र हिमाली क्षेत्रहरुमा सजिलै उत्पादन हुने अर्गेलीको सदुपयोग गरेर बिदेशी मुद्रा ल्याउन सकिनेमा उनको जोड छ ।
    सुरुमा ब्यवसाय गर्दा लाखौ रुपैयाँसमेत सिग्देललाई घाटा परेको थियो । नयाँ कामदारलाई दक्ष वनाउँदै काम लगाउनु पर्ने भएका कारण पनि समस्या रहेको थियो । त्यसोत ज्ञान नभई काम गर्न खोज्नेलाई ठग्ने प्रबृतिका कारण पनि आफूलाई नोक्सान भएको उनले वताए । काम गर्नु पहिले मनग्ये ज्ञान चाहि लिनु पर्ने उनले त्यसवाट पाठ सिके र अहिले अरुलाई उनी यस्तै शिक्षा दिईरहेका छन् । थोत्रा र पुराना मेशिन दिएर सुरुमा आफूलाई ठगेको नमिठो अनुभव पनि सिग्देल सँग छ ।
    आफूले काम सिकाएपछि अरु ठाउँमा कामदार जाने कारण पनि कहिले काही समस्या परेको उनी वताउँछन् । यी सवै कामका लागि सरकारले नेपाली कागज उद्योगलाई टेवा दिनु पर्ने उनले माग गरे । आफ्नै देशमा वनेको सामान अनिवार्य सरकारी कार्यालमाय प्रयोग गर्ने नियम वनाउनु आवश्यक रहेकोमा उनले पुनः जोड दिएका छन् ।