• काठमाडौँ । नेपालमा मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४०२ पुगेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका क्रममा २४ पुरुष र ३ महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

    उनका अनुसार काठमाडौँमा तीन, भक्तपुरमा एक र ललितपुरमा पहिलो पटक एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, झापा ९, कपिलवस्तु ४, सर्लाही २, मोरङ १, सुनसरी १, मकवानपुर १, सिन्धुली १, रामेछाप १, लमजुङ १ र नवलपरासीमा १ जना संक्रमित भएका छन् ।

    मन्त्रालयका अनुसार उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको छ । अहिलेसम्म संक्रमित भएका मध्ये ३४० पुरुष र ६२ महिला छन् त्यसमध्ये ३७ जना भने निको भएका छन् ।

    प्रवक्ता डा. देवकोटाका अनुसार नेपालमा हालसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जना र आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ ।