• बेलायतमा राजीनामा दिने मन्त्रीको सङ्ख्या आठ जना पुगेको छ । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि सुरु भएको राजीनामा शृङ्खला बढ्दै आठ जना पुगेको बीबीसीले जनाएको छ ।

    राजीनामा दिएका मन्त्रीहरूले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । तर प्रधानमन्त्री बोरिस जोनसनलाई बुझाएको भनिएको राजीनामा पत्र सार्वजनिक भएको छ । जसमा प्रधानमन्त्री जोनसानको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिएको छ । सुरुमा राजीनामा दिने अर्थमन्त्री ऋषि सुनकले बुझाएको राजीनामामा प्रधानमन्त्रीप्रति भरोसा नभएको र सरकारमा विश्वास गुमेको उल्लेख छ ।

    सन् २०२० को फेब्रुअरीदेखि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका सुनक कन्जर्भेटिभ पार्टीको भविष्यका नेताका रूपमा समेत चर्चामा छन् । उनले राजीनामा पत्रमा सरकारले राष्ट्रहितमा काम नगरेको भन्दै सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने नागरिकको चाहना रहेको उल्लेख गरे ।

    यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो नेतृत्व अस्वीकार गर्दै मन्त्रीहरूले राजीनामा दिइरहे पनि आफू पदबाट नहट्ने बताएका छन् । उनले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरूको परिवर्तनले जनादेश नगुम्ने बताएको बीबीसीले जनाएको छ ।