• काठमाडौं । विगत २४ घण्टामा १ हजार ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने यसै अवधिमा १४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । त्यस्तै यसका कारण ज्यान गुमाउनेको संख्या भने १ हजार ६५१ पुगेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा मात्रै थप १ हजार ४८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी हालसम्म निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यो निको हुनेको दर ९४.२ प्रतिशत भएको मन्त्रालयले बताएको छ । यसैगरी बाँकी सक्रिय संक्रमित १२ हजार २४५ पुगेका छन् । हाल क्वारेन्टाइनमा ५२५ जना रहेका छन् ।

    गएको २४ घण्टामा जम्मा ६ हजार २८६ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए । यसरी अहिलेसम्म नेपालमा १८ लाख ५ हजार ९७२ जनाको पीसीआर विधिबाट परीक्षणहरु गरिएका मन्त्रालयले बताएको छ ।