• काठमाडौं : बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत कास्कीले सहकारी ठगी कसुरमा ८ वर्ष कैद सजाय सुनाएको छ।

    पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपालीलाई अदालतले १ करोड २६ लाख रुपैयाँ जरिवाना तिर्नसमेत आदेश दिएको छ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाशको एकल इजलासले गरेको फैसलाअनुसार सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना तोकिएको छ।

    त्यस्तै, सहकारीका सञ्चालक निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

    जिल्ला अदालत कास्कीका अधिकृत तारानाथ पोखरेलका अनुसार फैसलाको पूर्णपाठ तयार हुन बाँकी छ। पूर्णपाठ तयार भएपछि अदालतको वेबसाइटमा अपलोड गरिनेछ।

    यो फैसला सहकारीका ११० जना बचतकर्ताले दिएको जाहेरीका आधारमा भएको हो। उनीहरूले सहकारीबाट बचत रकम फिर्ता नपाएको भन्दै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो दाबी गर्दै १५ जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेका थिए।

    यसअघि नेपालीसहित सहकारीका सञ्चालकविरुद्ध ५२४ जना बचतकर्ताले जाहेरी दिएका थिए। उनीहरूले ५७ करोड ३५ लाख रुपैयाँ बिगो दाबी गरेका थिए। पछि नेपालीसहित सञ्चालकहरूले ४०० जना बचतकर्तासँग मिलापत्र गरेपछि उनीहरूको जाहेरी फिर्ता भएको थियो। मिलापत्र हुन नसकेका ११० जना बचतकर्ताले पूरक अभियोगका रूपमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा अदालतले फैसला गरेको हो।

    नेपालीले पोखरा र बाग्लुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। दुवै सहकारीमा गरी करिब २ अर्ब रुपैयाँ अपचलन भएको भन्दै बचतकर्ताले दुवै जिल्लामा जाहेरी दिएका थिए।

    कास्की जिल्ला अदालतमा पेस भएको अभियोगपत्रका आधारमा कात्तिक १७ गते फैसला भएको हो। बागलुङमा परेको जाहेरीका आधारमा जिल्ला अदालत बागलुङमा भने छुट्टै मुद्दा विचाराधीन छ।

    सहकारी ठगीको अभियोग लागेपछि फरार भएका नेपाली करिब डेढ वर्षसम्म फरार रहेका थिए। उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो। प्रहरीले २०८१ असोज ११ गते भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उनी अहिले जिल्ला अदालत बागलुङको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्।

    नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित नेपालीले इमेज सहकारी खोल्नुअघि पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएर काम गरेका थिए। सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका बेला अर्का सञ्चालक जीबी राईसँग कुरा नमिलेपछि नेपाली आफ्नो समूहसहित छुट्टिएर इमेज सहकारी खोलेका थिए।

    इमेज सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले फैसला गरे पनि सूर्यदर्शन सहकारीको मुद्दा भने अझै विचाराधीन छ। उक्त सहकारीका सञ्चालक जीबी राई अझै फरार छन्।