• काठमाडौं । गएको २४ घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये ३७० महिला र ६४४ जना पुरुष रहेका छन् । मन्त्रालयले सोमबार प्रकाशित गरेको विवरण अनुसार यस अवधिमा ६ हजार २२० पीसीआर परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।

    त्यसैगरी यसै अवधिमा संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने यसका कारण ज्यान गुमाउनेको संख्या १६ सय १४ पुगेको मन्त्रालयले बताएको छ ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्र ४४२ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, ललितपुरमा ६७ र भक्तपुरमा ३१ जनामा संक्रमण देखिएको हो ।

    सोमबार मात्र १ हजार ६२८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसहित अहिलेसम्म निको भएर घर फर्कनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । निको हुनेको दर ९४ प्रतिशत हो । बाँकी सक्रिय संक्रमित १२ हजार ९४८ पुगेका छन् भने कोरोनाको आशंकामा देशभरका क्यारेन्टाइनमा ५२७ जना बसिरहेका मन्त्रालयले प्रकाशित गरेको विवरणमा जनाइएको छ ।