• काठमाडौं । गएको २४ घण्टामा देशभरबाट १ हजार २५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसैगरी यसै अवधिमा थप २५ जनाको कोरोनाबाट मृत्यु भएको आइतबारको कोभिड–१९ अपडेटका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार यीसँगै नेपालमा कोरोना संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४७९ पुगेको छ ।

    उक्त पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले यसै अवधिमा १ हजार ४०४ जना कोरोनामुक्त भई डिस्चार्ज भएको जानकारी दिएका थिए । यसरी अहिलेसम्म निको हुने २ लाख ११ हजार १८६ जना निको भइसकेका छन् । यो कुल संक्रमितमध्ये निको हुने दर ९१ प्रतिशत हो । त्यस्तै कोरोनाकै आशंकामा हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ पुगेको छ ।

    मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९ हजार ६३८ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो भने यसरी नेपालमा अहिलेसम्म १७ लाख २७ हजार ८३६ वटा नमूनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।