• काठमाडौं । २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै बिहीबार ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्याबारे पुष्टि गरेका हुन् । यसरी नेपालमा अहिलेसम्म संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ । यस अवधिमा २ हजार ६७५ जना कोरोनामुक्त भएका छन् । यसरी अहिलेसम्म कोरोनाको संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

    त्यसैगरी २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ । मन्त्रालयका अनुसार यस अवधिमा १८ हजार ४७३ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो । नेपालमा अहिलेसम्म ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ ।