• शिक्षा प्रत्येक मानवका लागि आधारभूत कुरा हो । यसको अभावमा मानिस पूर्ण हुन सक्दैन । अहिलेसम्म शिक्षाका विषयमा धेरै छलफल भएका छन् । तर, वर्तमान विश्वमा, विशेषगरी नेपालको सन्दर्भमा, कस्तो प्रकारको शिक्षा आवश्यक छ भन्ने कुरा अझै अनुत्तरित छ ।

    आधुनिक नेपालका सन्दर्भमा यस विषयमा विद्वत् वर्गबिच गहन छलफल आवश्यक छ । हामीले समयमै शिक्षाबारे उचित निर्णय नलिए यसले युवा पुस्तामा धेरै अन्योल सिर्जना गर्नेछ । समय र ज्वारभाटाले कसैको प्रतीक्षा गर्दैनन् भनेझैँ हाम्रो भविष्यको आधारस्तम्भ शिक्षाबारे निर्णय लिन ढिला भइसकेको हुनेछ ।


    वर्तमान अवस्थामा नेपालको शिक्षा किन दोषयुक्त छ ?


    हाल नेपालको शिक्षा प्रणालीबारे विभिन्न मत छन् । तर, आधुनिक विश्वमा सबैभन्दा उपयुक्त प्रणाली कुन हुन सक्छ ? के वर्तमान शिक्षा प्रणाली मानवमूल्य र समाज विकासका लागि अनुकूल छ ? पक्कै पनि वर्तमान शिक्षा प्रणाली पूर्ण रूपमा दोषयुक्त छ । तथाकथित आधुनिक शिक्षाको सट्टा हामीले व्यावहारिक र नेपाली माटो सुहाउँदो शिक्षामा जोड दिनु आवश्यक छ ।
    हाल नेपालमा विभेदपूर्ण शिक्षा दिइँदै छ । यहाँ ‘निजी’ र ‘सार्वजनिक’ शिक्षा प्रणाली छन् । धेरैजसो मानिस अंगे्रजी भाषामा शिक्षा प्राप्त गर्नु नै आधुनिक र गुणस्तरीय शिक्षा हो भन्ने विश्वास गर्छन्, तर यो गुणस्तरीय शिक्षाको उपयुक्त परिभाषा भने होइन ।

    पहिलो प्राथमिकता नैतिक शिक्षा

    जबदेखि हामीले नैतिक शिक्षा र संस्कृत भाषा हटायौँ, तबदेखि हामीले हाम्रो पहिचान गुमाएका छौँ । परिणामस्वरूप अहिले हाम्रो समाजले ठुलो समस्या सामना गरिरहेको छ । आधुनिकताका नाममा हामीले हाम्रा जरा काट्यौँ र पश्चिमा प्रणालीको बिउ रोप्यौँ । न हामी उनीहरूजस्तै बन्यौँ, न आफूूजस्तै । यही हाम्रो पहिचानको संकट हो । त्यसैले हामीले हाम्रो संस्कृतिमा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।
    नैतिक शिक्षा नै शिक्षाको मेरुदण्ड हो । संस्कारविना शिक्षा मूल्यहीन हुन्छ । नेपालको वर्तमान सामाजिक राजनीतिक अवस्था मूल्यहीन हुँदै जानुको करण नै नैतिक शिक्षाको अभाव हो । एक विद्यार्थीलाई थाहा छैन कि आफ्ना बा–आमा अनि शिक्षक या आफन्तसँग कसरी व्यवहार गर्नुपर्छ । त्यसैगरी, शिक्षकलगायत नेता, कर्मचारी, व्यापारी, डाक्टर इन्जिनियर, सुरक्षा निकाय कसैसँग जिम्मेवारीको बोध छैन । नैतिकताविहीन मानिस नै समाजका बोझ हुन् । केही नैतिकवान् भए पनि यस्तो समाजमा तिनका योगदान दबिन्छन् र समाज अराजकतातिर जान्छ ।

    हामीले निरन्तर रूपमा नैतिक शिक्षा दिँदै आएका भए, सम्भवतः हामीले राजनीतिक र शैक्षिक क्षेत्रमा देखिरहेको भयानक बेथिति देख्नुपर्ने थिएन । गुणस्तरीय शिक्षा र पश्चिमी संस्कृतिलाई अपनाउने नाममा हामी हाम्रा आफ्नै धर्म र संस्कृतिलाई गुमाउँदै छौँ । त्यसैले नैतिक मूल्यविना शिक्षा बेकार हो । हामीले हाम्रा विद्यार्थीलाई ‘वसुधैव कुटुम्बकम्’ सिकाउन आवश्यक छ । यसको अर्थ हो– सारा संसार हाम्रो परिवार हो । यसले व्यक्तिबाट व्यक्तिसम्म माया, सहानुभूति र संवेदनाको भावना बढाउँछ । साथै यसले परिवार र राष्ट्रमा संरक्षकत्वको महइभ्व पनि सिकाउँछ । नैतिक शिक्षाले करुणा, इमानदारिता, जिम्मेवारीबोध जस्ता मानवमूल्य सिकाउँछ, जसले व्यक्तिलाई सही र गलत छुट्याउन मार्गदर्शन गर्छ र असल चरित्र विकास गर्न सहयोग पु¥याउँछ ।

    शिक्षामा आध्यात्मिकताको महत्व

    पूर्वीय दर्शनबाट प्रभावित मुलुक नेपाल र भारत वेद र उपनिषद्मा सम्पन्न छन् । त्यसैगरी, नेपाल भगवान् बुद्धको जन्मभूमि हो । बुद्धदर्शन हाम्रो संस्कृतिको जीवनरेखा हो, तर आज हामीले यसलाई बिर्सिसकेका छौँ र जराविहीन संस्कृति अभ्यास गर्दै छौँ, जुन हाम्रो समाजको पतनको कारक हो । दुर्भाग्यवश हामीले आधुनिकताका नाममा हाम्रा ऋषिमुनीका योगदान बिर्सिसकेका छौँ, तर पश्चिामाले आफ्ना विश्वविद्यालय र शैक्षिक संस्थामा संस्कृत भाषासहित वेद, भगवद गीता अध्ययन अध्यापन गरिरहेका छन् । हाम्रो जस्तो देवभूमिमा राजनीतिक स्वार्थले जाति र धर्मबिच घृणा फैलाइको छ । हाम्रो संस्कृति र इतिहासविरुद्ध जनतालाई विभाजन गरिएको छ । त्यसैले, विभाजित मानसिकतालाई एकताको सूत्रमा बाँध्ने कडी नै शिक्षामा आध्यात्मिकता हो । कम्तीमा हामीले पूर्वीय दर्शनका अमूल्य ग्रन्थ वेद, भगवदगीता, बुद्धको अष्टाङ्ग मार्ग या किराँत मुन्धुमका मूल्यहरू विद्यार्थीलाई सिकायौँ भने सकारात्मक परिणाम देखिन्छ ।

    वेद, गीता, त्रिपिटक र मुन्धुमका मानवमूल्यमा आधारित शिक्षा युवापुस्तामा पु¥याउन सक्यौँ भने यिनले उनीहरूलाई सही मार्ग देखाउनेछन् । यी ग्रन्थले युवालाई अप्ठ्यारोमा धैर्यधारण गर्न, मानवीय कर्तव्य र संवेदना बुझ्न, दुःखमा विचलित नहुन र सुखमा नैतिकताको धरातलभित्र बस्न सिकाउँछन् । वेदको मुख्य विषय अस्तित्व, दिव्यता र ब्रह्माण्डीय व्यवस्थाको खोज हो, जुन स्तुति, अनुष्ठान तथा दार्शनिक चिन्तनमार्फत व्यक्त गरिएको छ । यसले धर्मको पालनाको लक्ष्यमा विशेष ध्यान केन्द्रित गर्दछ भने मुन्धुमले प्रकृतिको पूजा गर्न सिकाउँछ । तसर्थ अबको शिक्षामा यी विषयवस्तुको अपरिहार्य व्यवस्था हुनुपर्छ ।

    व्यावहारिक तथा जीवनोपयोगी शिक्षाको आवश्यकता


    हाम्रो शिक्षा प्रणाली सैद्धान्तिक ज्ञानमा आधारित छ । यस्तो ज्ञान चिरस्थायी हुँदैन । व्यावहारिक तथा जीवनोपयोगी शिक्षाले पहिला कुनै काम गर्न सिकाउँछ । त्यसपछि सिद्धान्तको आविष्कार विद्यार्थी स्वयंले गर्छ । यस्तो ज्ञान चिरस्थायी हुन्छ, जीवनपर्यन्त विद्यार्थीले भुल्दैन । व्यावहारिक शिक्षा भनेको गर्ने क्रममा सिक्नु हो (learning by doing) । जसले प्रत्यक्ष अनुभव, वास्तविक जीवनमा लागू हुने ज्ञान र व्यवसायिक सीपमा ध्यान केन्द्रित गर्दछ । यसले सिद्धान्त र अभ्यासको बिचको खाडल घटाउने काम गर्छ । त्यसैले, नयाँ शिक्षा नीति व्यावहारिक शिक्षामा केन्द्रित हुनुपर्छ ।

    विद्यार्थीलाई आफ्नो देशमा राख्ने नीति


    वास्तवमा हाम्रो जस्तो देशमा प्रत्येक वर्ष लाखौँ प्रतिभाशाली विद्यार्थी अध्ययनका लागि विदेश जाने गर्छन् । त्यसका लागि उनीहरूले लाखौँ रुपैयाँ खर्च गर्छन् । बिदेसिएपछि बिस्तारै परिवारबाट टाढा हुन्छन् र आफ्नो देश फर्कन नै चाहन्नन् । यसले राष्ट्रलाई ठुलो क्षति पुरयाउँछ र उच्च दक्ष जनशक्तिको ह्रास पनि हुन्छ । तसर्थ, राज्यले नयाँ देशको माटो सुहाउने शिक्षा नीति तयार गर्नुपर्छ । यसका लागि सबै सरोकारवाला एउटै स्थानमा बसेर यस विषयमा छलफल गर्नुपर्छ ।

    शैक्षिक क्षेत्र राजनीतिमुक्त हुनुपर्छ

    शैक्षिक क्षेत्रलाई राजनीतिमुक्त गराउन शिक्षक तथा प्राध्यापक नै सचेत र इमानदार हुनुपर्छ । राज्यले उनीहरूलाई उच्च सुविधा प्रदान गर्नुपर्छ । तर, उनीहरू कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुनुहुँदैन । साथसाथै, विद्यार्थीहरू कुनै राजनीतिक दलका कार्यकर्ता नभई विशुद्ध शैक्षिक गतिविधिमा रहनुपर्छ । अनि, नेपाली समाजले त्यो भ्रमबाट सचेत हुनुपर्छ कि केवल अंग्रेजी भाषा मात्र विकासको चिह्न हो । उदाहरणका लागि चीन, जापान र धेरै युरोपेली देशले आफ्नो भाषामा ज्ञान प्रदान गरेर सफलता हासिल गरेका छन् । नयाँ पाठ्यक्रमले हाम्रो राष्ट्र निर्माणमा योगदान दिएका महान् पुर्खाको योगदानको कदर गर्दै प्रत्येक नागरिकमा देशप्रेमको भावना जगाउन आवश्यक छ ।

    नारायण सिटौला
    बेलायत