• काठमाडौं : नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलोपटक मधेश प्रदेशमा भेटिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको दुधौरा खोलानजिक काँडेभ्याकुर अभिलेख भएको नेपाल पक्षीविद् संघका अध्यक्ष हठनराम महतोले जानकारी दिए । उनका अनुसार अब काँडेभ्याकुर देशका सातवटै प्रदेशका अभिलेख भएको छ ।

    संघले विज्ञप्ती निकालेर चराविद् हठन चौधरी र सुरज बरालले यही जेठ २१ गते काँडेभ्याकुर फेला फेला पारेका हुन् । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर १ हजार ८ सय ३० मिटर उचाइसम्म अभिलेख भएको रेकर्ड छ । तर, बारामा भएको अभिलेख अहिलेसम्मकै होचो भू–भाग समुद्री सतहबाट ४ सय ४३ मिटरमा भेटिएको संघले जनाएको छ ।

    काँडेभ्याकुर घुम्रिएको कालो ठुँड, अरू चराभन्दा पृथक र चर्को सुसेली गीत गाउने हुन्छ । उन्युँ वा खरघाँस भएको काँडे र खस्रा वनमा बस्न मन पराउने भ्याकुर भएकाले पनि यसलाई काँडे भ्याकुर भनिएको हो ।

    नेपालमा सबैभन्दा पहिले काँडे भ्याकुर चरा बेलायती नागरिक ब्रायन हडसनले सन् १८३० मा काठमाण्डौ उपत्यकामा अभिलेख गरेका थिए ।