• काठमाडौं : बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त हुनुभएको छ । बालमोरल क्यासलमा महारानी एलिजाबेथ द्वितीयलाई भेटेपछि लिज ट्रस औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बीबीसीले जनाएको छ । यसअघि आज मङ्गलवार नै निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयलाई भेटेर औपचारिकरूपमा राजीनामा दिइसकेका थिए ।

    ट्रसले कन्जरभेटिभ पार्टीको नेता बन्ने प्रतिस्पर्धामा प्रतिद्वन्द्वी ऋषि सुनकलाई पराजित गरेकी थिइन् । निवर्तमान प्रधानमन्त्री जोनसनले राजीनामा दिने बताएपछि कन्जरभेटिभ पार्टीले आठ हप्ताअघि नेतृत्व छान्ने प्रक्रिया सुरु गरेको थियो । हिजो सोमवार विजयी भएपछि ट्रसले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताइन् । उनले आफ्नो पूर्वघोषणाअनुसार व्यापक कर कटौती गर्दै अर्थतन्त्र बलियो बनाउने पनि दोहोर्‍याइन् ।

    ट्रस बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बनेकी हुन् । यसअघि टेरेजा मे र मार्गरेट थाचर प्रधानमन्त्री बनिसकेका छन् ।

    प्रधानमन्त्री ट्रसले ब्रेक्जिट, कोरोनाविरुद्धको सशक्त लडाइँ र युक्रेनमा रुसको दमनविरुद्ध अडिग रहेकोमा प्रधानमन्त्री बोरिस जोनसनलाई पनि धन्यवाद दिएकी छिन् ।

    ट्रसले भोलि बिहान मन्त्रिपरिषद्को पहिलो बैठक राख्ने र त्यसअघि केही मन्त्री नियुक्त गर्नुपर्ने बीबीसीले जनाएको छ ।