• आफ्ना कर्मचारीमाथि पहुँचका आधारमा तथा रकम लिएर खोप लगाइदिएको आरोप लागेपछि वीर अस्पतालले छानबिन थालेको छ । यसले पनि पहुँचका आधारमा खोप लगाएको स्पष्ट भएको छ । कोभिडविरुद्धको खोप वितरणमा अनियमितताका गुनासा बढेका छन् । स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समूहका कतिपयले घण्टौं लाइन बस्दा पनि नपाएपछि खोप वितरणलाई लिएर प्रश्न उठाएका हुन् ।

    काठमाडौंको बीर अस्पताल परिसरमा बिहानदेखि लाइन लागे पनि खोप लगाउने पालो नआएको भन्दै उनीहरु नाराबाजीमा उत्रिए । कर्मचारीले पहुँचवालालाई भित्रभित्रै खोप लगाइदिएकाले आफ्नो पालो नै नआएको उनीहरुको गुनासो छ । त्यति मात्र होइन, अस्पतालका कर्मचारीमाथि खोप बेचेको आरोप लागेको छ। दुई जना अहेबमाथि लाइनमा बसेका लक्षित वर्गलाई पालो अनुसार खोप लगाउन छोडेर रकम बुझाउनेलाई लगाइदिएको आरोप लागेपछि अस्पताल व्यवस्थापनले छानबिन थालेको छ ।

    बीरका अहेबले निःशुल्क लगाइदिनुपर्ने खोप बेचेको हो होइन र हो भने कति रकम लिएका हुन् भन्ने खुल्न बाँकी छ । कर्मचारीमाथि रकम लिएर भित्रभित्रै खोप लगाएको आरोप अन्य अस्पतालका कर्मचारीमाथि पनि लागिरहेको छ । खासगरी सात घण्टासम्म लाइन बस्दा पनि लक्षित समूहका कतिपयले खोप पाउन नसकेपछि यस्तो आरोप बढेको हो । कतिपय खोप केन्द्रले लाइनमा बसेका न्यून नागरिकलाई लगाएलगत्तै खोप सकिएको भन्ने गरेकाले पनि रकम लिएर भित्रभित्रै लगाइदिने गरेको आरोपमा बल पुगेको छ । यतातर्फ मन्त्रालयले चासो भने दिएकै छैन ।

    खोप भित्रभित्रै लगाइरहेको आशंकामा स्वास्थ्य कार्यालयको शुक्रबारको यो सूचनाले पनि बल पुर्याएको छ । उसले मौज्दात सकिएको कारण जनाएर काठमाडौंमा भोलिको खोप अभियान स्थगित गरेको छ ।