• काठमाडौं । गएको २४ घण्टामा १ हजार २१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । यस अवधिमा ७ हजार २३२ वटा नमुनाको परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी बिहीबार नै थप १२ जनाको मृत्यु यसकै संक्रमणका कारण मृत्यु भएको छ ।

    यसरी अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ६३ पुगेको मन्त्रालयद्वारा प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।

    आज काठमाडौं उपत्यकामा मात्रै ४०४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३२८, ललितपुरमा ५१ र भक्तपुरमा २५ रहेका छन् ।

    मन्त्रालयका अनुसार २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ । यो निको हुनेको दर ९४.२ प्रतिशत हो । आज थपिएका सहित बाँकी सक्रिय संक्रमित १२ हजार ३८६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै कोरोना संक्रमणको आशंकामा देशभरका क्वारेन्टाइनमा बस्नेको संख्या ५१५ जना पुगेको छ ।