• काठमाडौं । देशभरबाट गएको २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसै अवधिमा थप १३ जनाको संक्रमणबाट मृत्यु भएको छ । यीसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ भने यसकै कारण ज्यान गुमाउनेहरु १ हजार ५५१ पुगेका छन् ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्रै ५६१ जना रहेका छन् । जसमा काठमाडौंमा ४५५, ललितपुरमा ८० र भक्तपुरमा २६ छन् ।

    त्यसैगरी बिहीबार थप २ हजार १११ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म निको भई घर फर्कनेको संख्या २ लाख २० हजार २७२ जना पुगेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । अहिले बाँकी सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ पुगेको छ । त्यस्तै कोरोना संक्रमणकै आशंकामा देशभरका क्वारेन्टिनमा ५७६ जना बसिरहेको मन्त्रालयले बताएको छ ।