• काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तीमध्ये ४ सय ३ महिला र ६ सय ३५ जना पुरुष छन् । यसरी संक्रमित हुनेमा काठमाडौंमा ८ सय २२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

    त्यसैगरी २४ घण्टाको अवधिमा देशभरबाट १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बुधबारको कोभिड–१९ पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार यस अवधिमा थप १२ जनाको मृत्यु भएको छ भने ३ हजार ५३८ कोरोनामुक्त भएका छन् ।

    देशभरमा अहिले सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ पुगेको छ भने हाल मुलुकभरका क्वारेन्टाइनमा कोरोनाको आशंकामा रहनेको संख्या ९१० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।