• काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड–१९ अपडेटका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका संख्याको पुष्टि गरेका हुन् । उनका अनुसार यस अवधिमा ६ हजार ७३१ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए । यीसँगै नेपालमा अब कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको उनले सो अवसरमा जानकारी दिएका थिए । त्यसैगरी यसै अवधिमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ ।

    त्यस्तै २४ घण्टाको अवधिमा थप ३ हजार ५३८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना जितेर घर फर्किनेको कुल संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार आज थपिएका नयाँसहित देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ पुगेको छ । हाल मुलुकभरका क्वारेन्टाइनमा कोरोनाको आशंकामा रहनेको संख्या ९१० पुगेको सो अवसरमा मन्त्रालयले बताएको छ ।