• काठमाडौं । आइतबार थप २ हजार ८१७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २४ घण्टाको अवधिमा १२ हजार ३११ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।

    यस अवधिमा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको प्रवक्ता डा. गौतमले पुष्टि गरेका छन् । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या ११ सय ८ पुगेको छ । त्यस्तै आइतबारमात्रै २ हजार ८१२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै नेपालमा अहिलेसम्म निको हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको उनले सो अवसरमा जानकारी दिए ।

    मन्त्रालयका अनुसार बाँकी सक्रिय संक्रमितको संख्या हाल ३५ हजार ४१९ जना पुगेको छ । यीमध्ये होम आइसोलेसनमा २९ हजार १९७ र संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना छन् । त्यसैगरी कोरोना संक्रमणको आशंकामा अहिले १ हजार १४९ जना क्वारेन्टाइनमा बसिरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।