• पछिल्लो समय प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयका सूचना नदिएको भन्दै सरकारप्रति तीव्र आलोचना हुँदै आएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख सूर्य थापालाई नियुक्त गरे । नियुक्ति भएका केही दिनमा थापाले पत्रकारहरु भेला गरेर आफ्नो काम सुरु गरे । भेला भएका पत्रकारहरूले सूचनामा पारदर्शी बन्न सुझाव दिएका थिए । प्रधानमन्त्री कार्यालयबाट सही सूचना समयमा नदिएका कारण समस्या भएको गुनासो पत्रकारले थापासँग गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यदेखि सरकारले गर्ने कामका धेरै सूचना यसअघि लुकाउने गरिएको गुनासोसमेत पत्रकारहरुले गरेका थिए । थापालाई सरकारले राज्यमन्त्रीसरहको सुविधा प्रदान गरेको छ । यसअघि थापाले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रूपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
    थापा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य, नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत बनेका थिए । प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासम्म पु¥याउन आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता जनाएका छन् । कार्यभार समालेसँगै उनले ब्यक्त गरेका भनाइका अंश ः–

    सूचना सवैको अधिकार
    सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्ने कुरै आउँदैन । जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने योजना हुने छ । । प्रधानमन्त्रीसँग सम्बन्धित कुरा बाहिर ल्याउन कुनै कमी हुन दिइने छैन । प्रधानमन्त्री र सरकारका कामलाई जनतासमक्ष पु¥याउन सञ्चारकर्मीमार्फत अधिकतम कोशिस गर्नेे योजना रहेको छ । प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेसनोटमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउने छौं । पारदर्शितालाई जोड दिने समाजको मान्छे भएका कारण प्रधानमन्त्री र सरकारका जिम्मेदारीका कतिपय संवेदनशील कुरालाई भने सञ्चारकर्मीसँगको छलफलबाट समाधान गर्ने योजना बनाईने छ ।
    सञ्चारमाध्यमका समस्या
    अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या छ । त्यस्ता समाचारलाई निरुत्साहित गर्नु पर्छ । सरकारले राम्रो काम गर्दा स्याबासी र गलत काम गर्दा खबरदारीसमेत गर्नु सञ्चारमाध्यमको काम हो । सरकारका कतिपय राम्रो कामको सम्प्रेषण भएको छैन । त्यसकारण पनि मन्त्रालयगत रुपमा एकीकृत ढङ्गले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषणसमेत गरिने योजना बनाईने छ ।
    प्रधानमन्त्रीका गतिविधिलाई सहजरुपमा उपलब्ध गराउन सञ्चारकर्मीहरुले आग्रह गर्नु भएको छ । त्यसका लागि हामी सदैव तयार रहन्छौं ।
    हिजो र आज
    बिगतमा पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा मैले काम गरेको हुँ । तर, पहिले भन्दा अहिले धेरै फरक छ । किनपनि भने त्यो बेला फरक समय थियो । अहिलेको जस्तो बलियो सरकार पनि त्यो थिएन ।
    हिजो भन्दा आज फरक छ । अहिले सञ्चार माध्यम र सञ्चारका बिधाहरु फरक छन् । धेरै बिधाका सञ्चारमाध्यमले अहिले प्रभाव पारेका छन् । हिजो युटुवरहरु थिएनन् । सामाजिक सञ्जालको प्रयोग पनि कम थियो । रेडियो टेलिभिजनले त्यो बेला प्रभाव जमाएका थिए । अहिले त्यो मात्र अवस्था छैन । त्यसकारण आधुनिक शैलीको प्रयोग गर्दै अघि बढ्नुको बिकल्प छैन । बिधागत विकास र बिस्तारलाई पनि मध्यजनर गर्नु पर्ने आवश्यकता छ । सरकारी माध्यम, व्रोडसिट पत्रिका, रेडियोसहित सञ्चार क्षेत्रका बिधाका समन्वयको प्रयास गर्नु अहिलको आवश्यकता हो ।
    प्रधानमन्त्रीका कामका साथै सरकारको गतिबिधिलाई आधुनिक सञ्चारमाध्यमबाट बाहिर ल्याउनु अहिलेको आवश्यकता हो ।
    सत्यतथ्यमा जोड
    सरकारले गरेका काम,प्रधानमन्त्रीबाट भएको कार्यसम्पादनलाई सञ्चारमाध्यमबाट बाहिर ल्याउनु अहिलेको प्रमुख आवश्यकता हो । त्यसका लागि सञ्चारकर्मी मार्फतनै बाहिर ल्याउनुको बिकल्प छैन । हाम्रो पहिलो प्राथकिता पनि त्यही होे । अहिले यहाँ ‘रयुमर’ फैल्याउने, ‘फेकन्यूज’ बनाउने अनि ‘पेडन्यूज’ पनि बनाउने देखिएका छन् । यसलाई निरुत्साही गर्नु पहिलो काम हो ।
    पछिल्ला घटना हेर्दा पनि सञ्चार माध्यम आफैले पटक पटक मन्त्रीमण्डल पुर्नगठन गरिदिएका थिए । पटक पटक शपथ पनि खुवाउन ठिक्क पारेका थिए । तर, ती काम भने भएका थिएनन् । यसले सञ्चारमाध्यमकै बिश्वासनीयतामा कमी ल्याउने निश्चित छ । यसलाई रोक्नु पनि आवश्यक छ । त्यसोत डाक्टरले गर्ने काम पनि सञ्चार माध्यमले गरेको देख्दा खुवै चिन्ता लाग्छ । यसलाई हटाउनु पर्ने अवस्था छ ।
    राज्यसत्ता र सरकार
    बिगतमा राज्यसत्ता परिवर्तनका बेलाको जस्तो अवस्था अहिले होईन । राज्यसत्ता परिवर्तन र सरकार परिवर्तन बिलकूल फरक बिषय हुन् । यसमा सञ्चारमाध्यमले बुझ्नु आवश्यक छ । राज्यसत्ता परिवर्तनको बिषयजस्तै सरकार परिवर्तन र स्थापनाको बिषय बनाउनु हुन्न ।
    सरकार आवधिक निर्वाचनको उपज हुन्छ । एक अवधि सरकार चलाउने ‘म्यान्डेट’ पाएको सरकारलाई सञ्चारमाध्यमले सहयोग गर्नु पर्छ । राज्यसत्ता परिवर्तन जस्तो सरकार सञ्चालनलाई सञ्चार माध्यमले लिनु हुँदैन । वर्तमान सरकारप्रति सत्ता परिवर्तनजस्तो मिसन नबनाउन सञ्चार जगतलाई आग्रह गर्दछु । सरकारका कामकारबाहीमा समर्थन र आलोचना गर्ने विश्वव्यापी प्रवृत्ति अधिकार भए पनि सरकारविरुद्ध मिसनै नबनाउन आग्रह गर्दछौं ।
    सरकारलाई गुण र दोषका आधारमा आलोचना गर्ने विश्वव्यापी सञ्चारको अधिकार हो । सरकारलाई सत्ता परिवर्तनजस्तै मिसन बनाउनुहुँदैन । गुण र दोषका आधारमा आलोचना गर्ने अधिकार सवैसँग छ ।
    प्रेसनोट
    श्रद्धेय झलनाथ खनाल प्रधानमन्त्री हुँदानै प्रधानमन्त्री कार्यालय र सरकारका विषयमा मिडियालाई जानकारी दिन प्रेस नोट जारी गर्न थालिएको थियो । मैले नै थालेको यो काम निरन्तर हुनेछ । त्योभन्दा अझै कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरूसँग थप छलफल गर्नेछु । सूचना लुकाउने सस्कार सह्य हुन्न । म बाट यो काम हुने छैन । आधुनिक लोकतन्त्रका मान्यताबाट निर्देशित भएका कारण पनि सोही अनुरुप ब्यवहार हुन्छ । सकेजति ईमान्दार भएर काम गरेर अघि बढ्ने योजना छ । केही केही कुरामा सानो समुहमा बसेर पनि छलफल गर्दै अघि बढ्ने योजना छ । सूचना रोकिएमा सहज बनाउन म सक्दो पहल गर्नेछु । सोही अनुरुप अघि बढ्ने योजना रहेको छ । सम्पर्क र सम्वन्धका आधारमा सहयोग सूचनाको लेनदेन हुन्छ । वर्किङ जर्नालिष्टलाई प्राथमिता राख्ने बिषयमा म पछि हट्ने छैन । म आफै पत्रकारिता क्षेत्रबाट आएको र त्यसको अन्तरबस्तु अध्ययन गरेका कारण पनि सोहि अनुरुप काम हुुनेमा शंका नगर्न अनुरोध छ ।
    सम्पादक र सल्लाहकार संयोग
    कुन्दन अर्याल मेरो अग्रज हुनुहुन्छ । उहाँले बुधवार साप्ताहिको सम्पादक पनि मलाई हस्तान्तरण गर्नुभएको थियो । अहिले पनि प्रेस सल्लाहकार उहाँपछि म आएको छु । (यसअघि तत्कालिन नेकपा एमाले निकट पत्रिका बुधबार साप्ताहिकको सम्पादकको जिम्मेवारी थापालाई सुम्पिदै अर्याल बाहिरिएका थिए ।)
    पत्रकारितामा अर्यालसँग मैले दृष्टि साप्ताहिक हुँदै बुधबारसम्म सहकार्य गरेको हो दृष्टि र बुधबारमा मैले उहाँसँग पत्रकारिता सिकेको छु । संयोगले उहाँले जिम्मेवारी छाड्ने र मैले सम्हाल्ने क्रम दोहोरिएको छ ।
    संयोगले बुधबार साप्ताहिक मलाई हस्तान्रण गर्नु भएको थियो । अहिले प्रेस सल्लाहकार पनि उहाँले हस्तान्तरण गर्नुभयो । उहाँबाट पनि सिक्ने छु । स्वाभावका कारण केही प्रकृया फरक हुन्छ । म भन्दा अघि हुनु भएका सल्लाहकारहरुलाई पनि भेला गरेर अनुभवबाट सिक्ने कोशिस गर्ने छु । हामी प्रशंसा होईन निन्दा र भत्र्सना पनि होईन, सन्तुलनको आधारमा पत्रकारसँग छलफल र सम्वन्ध स्थापित गर्ने योजना हुनेछ । सरकारकाप्रति आलोचना हुन्छ । कार्यसम्पादन र साधनाका बारे आलोचना हुन्छ । त्यसलाई सन्तुलन गर्नु आवश्यक छ । प्रधानमन्त्रीज्यूको सोच र योजनालाई सार्थक तुल्याउने र सम्मृद्ध नेपालको अवधारणालाई साकार तुल्याउने योजनामा पनि म अघि बढ्न चाहन्छु । प्रधानमन्त्रीको योजना साकार पार्न सहयोगीको रुपमा म अघि बढ्ने योजना बनाएको छु । यसमा पत्रकार साथीहरुको सक्दो सहयोग, सल्लाह र सुझावको अपेक्षा पनि गरिएको छ ।
    अन्त्यमा,
    बधाई र शुभकामनासँगै व्यापक अपेक्षा पनि प्रकट भएको छ । मेरो स्वभाव, शैली र व्यवहार कोही कसैप्रति नबिझाउने बनाउन प्रयत्न गर्ने नै छु । तर चुकेल्याङजस्तो नठान्न र त्यसखालको अपेक्षाचाहिँ नगर्न सबैमा विनम्र अनुरोध गर्दछु । सम्माननीय प्रधानमन्त्रीको कार्यसम्पादनलाई परिणाममुखी बनाउन नै सम्पूर्ण योग्यता, क्षमता र बर्कतका साथ टिमवर्कमा क्रियाशील हुने, संचार क्षेत्रको सहज पहुँच र समन्वयमा रहने, भ्रम(यूमर), अतिरंजना, नक्कली र तथ्यहीन (फेक)समाचार सम्प्रेषण, बार्गे्निङ र बिक्रीको (पेड) समाचार, तोडमरोड (डिस्टोर्सन), नकारात्मक सम्प्रेषणमा प्राथमिकता (नेगेटिभिज्म) र नियोजित उद्देश्य(भेस्टेड मिसन) जस्ता व्यवहारमा जारी गलत अभ्यासमा सुधार गरी तथ्यको आधारमा सत्यमा पुग्ने व्यवसायिक(प्रोफेशनल)कार्यशैलीमा मेरो सदैव सहयोग रहने छ । मलाई निष्ठा र समर्पणका साथ प्राप्त नयाँ जिम्मेवारी पूरा गर्न सबैको सहयोग प्राप्त हुने हार्दिक आशा र विश्वासका साथ आशिर्वाद चाहन्छु ।

    -जनप्रशासन पाक्षिक (मंसिर१६–३०) मा प्रकाशित