•  

    डक्टर शिवजीबिक्रम सिलवाल  मुटुरोग बिज्ञ हुन् । उनले चिनको सन्यात्सेन बिश्वबिद्यालय बाट मुटु रोगका बिषयमा बिज्ञता हासिल गरे । ललितपुरमा जन्मिएका यी युवा चिकित्सकले ६ बर्षदेखि नर्भिक अस्पतालमा मुटु बिभागमा बसेर बिरामीको सेवा गरिरहेका छन् । यसका अलवा बनेपाको शिरमेमोरियल अस्पतालमा पनि उनले मुटुका रोगीलाई उपचार गर्न पाउने ब्यवस्था मिलाएका छन् । सामाजिक भावनाले ओतप्रोत भएका सिलवाल समाजका कुनै पनि मान्छे उपचारका अभावले मर्न नपरोस् भन्ने कामना गर्छन् । केही चिकित्सका कारण र केही वाहिरी वातावरणले चिकित्सकलाई गलतरुपमा हेरिएकोमा भने उनले चिन्ता ब्यक्त गरे । नेपालमा स्वास्थ्य नीतिमा ब्यापक सुधार गर्न आवश्यक भएको वताउने उनले चिकित्सकको काम उपचार वाहेक अरु केही नभएको दावी गरे । चिकित्सकले बिरामीको उपचार गर्न वाहेक अरु काम गर्न नहुने तर्क राख्ने यी युवा चिकित्सकले नेपाली समाजको आन्तरिक अवस्था पनि राम्र्रै सँग चित्रण गरेका छन् । चिकित्सा क्षेत्रलाई पेशा भन्दा पनि सेवाको रुपमा परिभाषित गर्ने सिलवाल अचानक मृत्यु हुने रोगको उपचारमा बिशेष सुबिधाको ब्यवस्था गर्नुपर्ने तर्क राख्छन् । यस्ता समस्याको उपचार पनि महंगो हुने कारण सरकारी निकायले यस बिषयमा बढी ध्यान दिनु पर्ने डाक्टर सिलवालको तर्क छ । उनै सिलवालको अनुभव र तर्कको सम्पादित अंश-

    चिकित्सकको काम कर्तब्य
    एउटा चिकित्सक उ सवैको जिन्दगी हो । निस्वार्थ भावनाले सेवा गर्नु नै उसको कर्तब्य हो । आफूले सकेको सेवा गर्न चिकित्सकले कुनै बन्देज राख्नु हुँदैन । को धनी को गरिव चिकित्सको भाषामा सबै समान हुन्छन् । रोगीको सेवा गर्नु नै चिकित्सको काम हो । दुर्गम वा सुगम जहाँका बिरामी भएपनि उपचार गर्न चिकित्सकले कुनै कसर बाँकी राख्दैन र राख्नु पनि हुन्न । हुनत चिकित्सकका पनि निश्चित सीमा हुन्छन । तर, बिरामीको सेवा गर्न कुनै बन्धनले छेक्न हुन्न । आजभोली उपचारका क्रममा केही समस्या पनि आउने गरेको छ । दुर्घटनामा परेर कोही बिरामी भएमा वेवारिसे भनेर उपचार नगर्ने अवस्था देखिएको छ । तर, यो कामले मानवतालाई जिस्काएको भान हुन्छ । प्रहरीले पनि वेवारिसे भन्दै अस्पतालमा घाईते लाने गरेको देखिन्छ । राज्यको अंग प्रहरीले वेवारिसे भनेपछि त्यस्ता घाईते साहाराविहिन पक्कै हुन्छन् । यो कार्य पटक्कै सुहाउँदो होईन । राज्यको एउटा प्रतिनिधि प्रहरीले लिएर आएका जो सुकै पनि बेवारिसे हुनुहुन्न । त्यसको उपचारमा सहजता ल्याउनु पर्छ । र, सवैले सहयोग गर्नु पर्छ । त्यसका लागि हरेक मान्छेको परिचय खुल्ने प्रविधि राज्यले विकास गर्नुपर्छ । अन्यथा चिकित्सकहरुले दोष पाउने क्रम बढिरहन्छ । यसमा राज्यको ध्यान जानु आवश्यक छ । स्वास्थ्य उपचार सुलभ हुनु अहिलेको आवश्यकता हो । उपचार नपाएर मान्छे मर्ने स्थितिलाई रोक्नु पर्छ । यसका लागि चिकित्सकको तर्फवाट गर्न सक्ने सहयोग र राज्यले गर्ने कामको नियम वनाएर जनताको उपचारको ब्यवस्था सरकारले गर्नुपर्छ ।

    चिकित्सक र बिकृति

    हरेक क्षेत्रमा बिकृति र बिसंगति हुन्छन् । समस्या र समाधानका उपाय पनि उत्तिक्कै हुन्छन् । सर्वप्रथम नियतबश मान्छेले गल्ती गर्यो या गरेन पहिचान हुनु आवश्यक छ । चिकित्सकले पनि नियतवश गल्ती गर्दैन । उसले सकेको र जानेको सीप पक्कै प्रयोग गर्छ । चिकित्सकहरुमा प्रतिश्पर्धाको भावनाले केही समस्या पनि देखिएको छ । अरु भन्दा आफुलाई अब्बल देखाउन पनि चिकित्सकहरु अनेक प्रयोग गर्ने पनि देखिएका छन् । हुनत नयाँ प्रयोगपछि नै नयाँ आविष्कार हुने हो । तर, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई लापर्वाही तवरले प्रयोग भने कदापि गर्नु हुन्न । त्यसकारण यस भित्रका बिकृति हटाउन चिकित्सक आफै पनि सचेत हुनु आवश्यक छ । नियतवश गल्ती नगर्दा पनि चिकित्सकमाथि बिभिन्न आरोप लगाउने पनि गरिएको छ । यसका लागि राज्यसंयन्त्रले ब्यवस्थापनको बिधि अपनाउन आवश्यक छ । सरकारी अस्पतालहरुमा पनि सरकारले ब्यवस्थापनका बिधि उपयुक्त ढंगले लागू गरेको देखिदैन । नीजि अस्पतालहरुमा पनि सरकारी नियमनको आवश्यकता छ । चिकित्सकहरु सुबिधाभोगी मात्र भएको आरोपहरु पनि धेरै आउने गरेको छ । मान्छेको स्वभाव नै सकेसम्म सुबिधा लिने नै हो । सरकारले नै उचित नियमन गर्दैन भने चिकित्सकहरु पनि सकेसम्म सुबिधा खोज्ने नै भए । अध्ययन गर्दा नै बढी मेहनत र लगानी भएका कारण पनि सुविधाको खोजी गर्नुलाई अन्यथा मान्नु पनि हुन्न । तर, यसो भनेर चिकित्सहरु नै नियम भन्दा बिपरित चाहि जानु हुँदैन । यसका लागि सचेत हुनु आवश्यक छ । चिकित्सा क्षेत्र आफैमा धेरै बिकृतिमा त छैन । तर, बाहिर वाट यसलाई नकारात्मक वनाउने काम पनि भएको छ । उपचार गर्दागर्दै मानिसको मृत्यु भएमा त्यसको दोष पनि चिकित्सकलाई दिने कारणले चाहि समस्या उत्पन्न भएको छ । त्यसलाई पनि समाधान गर्न स्वास्थ्य नीति गतिलो सँग लागू गर्न आबश्यक छ ।

    चिकित्सक र सुबिधा

    एकजना चिकित्सकले सेवा गरे बापत पारिश्रमिक लिने त अनिवार्य पद्धति हो । त्यो वाहेक अन्य मुलुकमा झै चिकित्सकका लागि सुबिधाको ब्यवस्था गर्नु पर्छ । चिकित्सकले सेवा वापत पाएको पारिश्रमिकको निश्चित प्रतिशत राजस्व बुझाएको हुन्छ । तर, उसले सरकारको तर्फवाट भने खासै सुविधा पाएको हुँदैन । बिभिन्न मुलुकहरुमा राजस्व तिरेपछि चिकित्सकका लागि बिभिन्न छुटको ब्यवस्था हुन्छ तर, नेपालमा त्यस्तो पाईदैन । बीमा,सवारी साधनमा छुट लगायतका सुबिधा राज्यले चिकित्सकलाई दिने गरेको पाईन्छ । यस्ता सुबिधा पनि राज्यले ब्यवस्था गर्न सके चिकित्सकलाई अझ जिम्मेवार वनाउन सकिन्छ । यहाँ आफुले जे जति गर्न सक्यो त्यसलाई मात्र उपभोग गर्नुपर्ने भएका कारण पनि चिकित्सा क्षेत्रमा केही समस्या आएका हुन् । चिकित्सा शास्त्र अध्ययन गर्न अन्य भन्दा गाह्रो र महंगो पनि पर्ने भएकाले चिकित्सकले राज्य वाट केही सुबिधाको आश गर्नु अन्यथा होईन । हुनत अध्ययनका लागि सरकारले छात्रबृद्धिको ब्यवस्था गरेको हुन्छ । तर, त्यो सीमित छ । त्यसकारण पनि चिकित्सकहरुलाई सरकारको तर्फवाट सुविधाका प्याकेजहरु ल्याउन आबश्यक छ ।

    चिकित्सका पीडा

    एउटा चिकित्सक जसले सधै बिरामीको सेवा गर्नु पर्छ र गर्छ । तर, कुनै समय उसलाई धेरै समस्या पर्छ । आर्थिक अभावमा रुमल्लिएका बिरामी अस्पतालमा छटपटाई रहँदा हेर्नु वा छोड्नु भन्ने दुबिधामा पर्दा साँच्चै दुख लाग्दो समय हुन्छ । अहिलेको उपचार महंगीका बेला पैसाको अभावमा बिरामी र उसका आफन्तले दुख बिसाउँदा साँच्चै नमज्जा लाग्छ । आफ्नो पारिश्रमिक नलिएर भएपनि बिरामीको उपचार गर्ने ईच्छा पनि आउँछ तर, त्यतिले पनि समस्याको समाधान हुँदैन । मुख्यगरी अचानक हुने मृत्युजन्य रोगका उपचारका लागि सरकारले बिशेष ब्यवस्था गर्न आवश्यक छ । यस्ता प्रकारका उपचार पद्धति पनि महंगो हुने भएका कारण पनि यस तर्फ सरकारले कदम चाल्नु आवश्यक छ । यसका लागि स्वास्थ्य नीतिमा परिमार्जन गरेर भएपनि सुबिधाको ब्यवस्था गर्न सके चिकित्सक र बिरामी दुवैलाई राहत महसुस हुनेछ ।

    सेवाको स्मरणीय क्षण

    दिपेन्द्र प्रहरी अस्पतालमा उच्च माध्यामिक तह अध्ययन गर्दा एक दिन आफै बिरामी परेर वनेपाको शिरमेमोरियल अस्पताल पुगेर उपचार गराउनु पर्ने अवस्था आयो । त्यहाँ आफ्नै उपचार गर्दा यो ठाउँमा सेवा गर्ने ईच्छा लागेको थियो । सोही ईच्छा अनुरुप चिकित्सक वनेर फर्केपछि महिनाको एक दिन यहाँ जाने गरेको थिए । एक दिन अरनिको हाईवे हुँदै वनेपा जाँदैगर्दा भक्तपुरको मध्यपुर अस्पतालमा २८ वर्षको ब्यक्ति हर्टएट्याक्क भएर लडेको देखे । उनलाई तुरुन्तै स्तरीय उपचार गर्न नसके मृत्यु हुने संभवान थियो । तर, त्यहाँ उपचारको अवस्था थिएन । आफैले एम्वुलेन्समा राखेर नर्भिक लैजाने योजना वनाए । तर, नर्भिक पुर्याउँदा पनि उनको अवस्था नाजूक हुने देखियो । तुरुन्तै वानेश्वरको एभरेष्ट अस्पतालमा फोन गरेर औषधीको ब्यवस्था गर्न लगाएर उपचारको ब्यवस्था गरियो । र, त्यसपछि नर्भिक लगेर आवश्यक उपचारको ब्यवस्था भयो । मुटुको चाल करिव वन्द भएका ती ब्यक्ति अहिले पनि फलोअपमा आउँदा आनन्द लाग्छ । तराईको यी ब्यक्तिको नर्भिकमा उपचार गराउँदा लाग्ने चिकित्सकको शुल्कसमेत नलिएर हामीले सहयोग गरेका थियौ । उनको उपचार सरकारी अस्पतालमा लाग्ने शुल्क भन्दा पनि कम अस्पताल प्रशासनले लियो । यसले उनी र उनको परिवारमा धेरै खुशी छाएको थियो । आफुले गरेको सेवा सम्झदा अहिले पनि धेरै खुशी हुने क्षण लाग्छ ।
    अन्त्यमा,

    चिकित्सक पेशा भएपनि यो सेवा हो । सेवाभावले हामीले अघि बढ्नु पर्छ । राज्यले पनि नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै चिकित्सको सेवा सुबिधाको बिषयमा पनि ध्यान दिनु पर्छ । यो काम गर्न सकेमा नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार आउने छ । यस तर्फ सवैले हातेमालो गरौं ।
    -जननप्रशासन पाक्षिकवाट