• उत्तर प्रदेश (भारत) । भारतको उत्तर प्रदेशमा दुई ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सवै मजदुर रहेका जनाइएको छ ।

    स्थानीय समयानुसार शनिबार बिहान ३ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको औरयाकी प्रमुख चिकित्सा अधिकृत अर्चना श्रीवास्तवले बताईन् । उनले अरु १५ जनालाई सैफाई विजिआईमा पठाइएको पनि जानकारी दिए ।

    “दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ, अरु २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ, गम्भीर घाइते मध्ये १५ जनालाई भने अन्यत्र अस्पतालमा लगिएको छ,” उनले भनिन् । दुर्घटनामा परेकाहरु राजस्थानबाट विहार र झारखण्डतर्फ जाँदै गरेका मजदुर रहेको अर्चनाले बताईन् ।

    यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरुलाई निर्देशन दिएको छ । उनले दुर्घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् । एएनआई