• काठमाडौं : लगातारको वर्षा र बाढीका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने भएको छ । असोज ८ गतेदेखि परेको अविरल वर्षाले कोरलादेखि मालढुंगासम्म सडकका विभिन्न ४६ स्थानमा क्षति पुर्‍याएपछि करिडोर खुलाउन समय लाग्ने भएको हो।

    कालीगण्डकी करिडोर अवरुद्ध भएपछि उत्तरतर्फ सञ्चालनमा रहेको प्रमुख व्यापारिक नाका कोरला प्रभावित भएको छ। दशैं–तिहारका लागि चीनबाट ल्याइएका सामानसमेत बाटोमै रोकिएका छन्। सडक विभागका अनुसार करिडोरका विभिन्न स्थानमा पहिरो, लेदो र सडक कटानका कारण यातायात प्रभावित भएको छ।

    कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोराला सडक योजना प्रमुख तेजस्वी शर्माले करिडोर पूर्ण रूपमा सञ्चालनमा आउन कम्तीमा एक साता लाग्ने बताए। ‘कम्तीमा एक हप्ता लाग्ने देखिएको छ। मालढुंगाको पुलको छेउ बगाए पनि मुख्य संरचनामा क्षति पुगेको छैन,’ शर्माले भने, ‘पोखरेबगरको पुलमा पनि उस्तै समस्या छ। दुवै पुलसहित सडक मर्मत थालिहाल्छौं।’

    असोज ८ गतेदेखि परेको वर्षाका कारण मालढुंगादेखि कोरालासम्म ४६ स्थानमा क्षति पुगेको छ। करिडोरका विभिन्न ठाउँमा लेदोसहितको पहिरो गएको छ भने लामाखेत र बेगखोला डुबानमा परेका छन्। भिरकाटे, तातोपानी कुण्ड, नारच्याङ, आमभित्ता, घ्याकर खोला, चैले, समर खोला र झोखोला लगायतका स्थानमा सडक कटान भएको छ। मुस्ताङको मार्फामा कल्भर्ट बन्द भएपछि पानी सडकमाथिबाट बगेको छ।

    कोरला नाका हुँदै दशैं–तिहारका लागि ल्याइएका लत्ताकपडा, फलफूल, विद्युतीय तथा घरायसी मेसिनरी, सवारीसाधन र पार्टपुर्जा बाटोमै रोकिएका छन्।

    नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार करिब ४ देखि ५ सय कन्टेनर रोकिएका छन्। ‘दशैं–तिहारलाई लक्षित गर्दै व्यवसायीले ल्याएका करिब ४–५ सय कन्टेनर रोकिए,’ कार्कीले भने, ‘दशैंका लागि ल्याएका सामान काठमाडौं आएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पठाउनुपर्छ। सामान समयमा नआउँदा व्यापारमा असर पर्छ।’

    उनका अनुसार तिहारपछि हिमपातका कारण कोरला नाका पनि सञ्चालनमा समस्या आउन सक्ने भएकाले सरकारले वैकल्पिक नाका सञ्चालनमा ध्यान दिनुपर्ने अवस्था छ।

    मालढुंगाको पुलमा क्षति पुगेपछि पोखरा–पर्वत–बाग्लुङ जोड्ने सडकसमेत प्रभावित भएको छ। सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीका अनुसार कालीगण्डकीमा पानीको बहाव नघटेकाले पुल तत्काल मर्मत गर्ने वा बेलिब्रिज राख्ने विषयमा निर्णय भइसकेको छैन। ‘कालिगण्डकीमा अझै पनि पानीको बहाव नघटेकाले बेलिब्रिज हाल्ने कि के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिएको छैन,’ अधिकारीले भने, ‘सकेसम्म दशैंअघि खोल्ने लक्ष्य छ।’

    उनका अनुसार नदी र सडकको उचाइ करिब १७–१८ मिटर रहेकाले सडकबाट नदीमा माटो हालेर तत्काल बाटो सञ्चालन गर्न सकिने अवस्था छैन। मालढुंगाको पुल सञ्चालनमा नआएसम्म बाग्लुङ जाने यात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ। कालीगण्डकी करिडोर हुँदै राम्दी, फलेवास र जैमिनीघाटको पुलबाट बाग्लुङ प्रवेश गर्न सकिने अधिकारीले बताए। दशैं आउन दुई साता पनि बाँकी नरहेकाले पोखरा–पर्वत हुँदै बाग्लुङ जाने यात्रु तथा व्यवसायीसमेत प्रभावित हुने भएका छन्।

    कालीगण्डकी करिडोरको उत्तरी खण्ड तत्काल सञ्चालनमा नआए पनि मालढुंगाबाट दक्षिणतर्फको सडक सोमबार साँझसम्म सञ्चालनमा आउने भएको छ।
    उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका सिडिई विनोद भट्टराईका अनुसार गैँडाकोटदेखि मालढुंगासम्म विभिन्न स्थानमा गएको पहिरो हटाउने काम भइरहेको छ। ‘रुद्रवेणी–हर्मीचौर खण्डमा पहिरो गएको छ। अर्वेनी–फलेवास खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ। राम्दी–रानीमहल खण्डमा पनि सडक अवरुद्ध छ,’ भट्टराईले भने, ‘योजनाका इन्जिनियरहरू सडक खुलाउन साइटमा खटिनुभएको छ। साँझसम्म सडक सफा गर्ने जानकारी आएको छ।’

    पोखराबाट पर्वत हुँदै बाग्लुङ जाने पुष्पलाल राजमार्ग र पाल्पा–गुल्मी–बाग्लुङ हुँदै म्याग्दी जाने कालीगण्डकी करिडोर मालढुंगाको पुलमा जोडिन्छन्। पुलमा क्षति पुगेपछि दुवै राजमार्ग प्रभावित भएका छन्। तर बेनीबाट पोखरा आउने यात्रुले भने मालढुंगाको पुल प्रयोग गर्नुपर्ने अवस्था छैन।