• मुस्ताङ । रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको दबाब कोरला नाकामा बढ्दा मुस्ताङ भन्सार कार्यालयको राजस्व असुलीमा उल्लेख्य वृद्धि भएको छ ।

    भदौ १० गतेपछि २० दिनको अवधिमा मात्रै मुस्ताङ भन्सार कार्यालयले रु. २ अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ । यो अवधिमा कोरला नाका हुँदै ५६४ कन्टेनर र १ हजार ९० वटा विद्युतीय सवारीसाधन (ईभी) भित्रिएका छन् ।

    रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि केरुङ हुँदै नेपाल भित्रिने मालवस्तु तथा ईभीको रुट परिवर्तन भएको हो । त्यसको प्रत्यक्ष प्रभाव कोरला नाकामा परेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले बताए ।

    चुडालका अनुसार भदौ १० गतेअघि कोरला नाकाबाट नियमित रूपमा हुने आयातको तुलनामा त्यसपछि व्यापारिक गतिविधि निकै बढेको छ । तातोपानी र रसुवागढी दुवै प्रमुख उत्तरी नाका बन्द हुँदा चीनबाट हुने आयातका लागि कोरला नाका तत्कालको प्रमुख वैकल्पिक मार्ग बनेको हो ।

    रसुवागढी नाका बन्द हुनुअघि चालु आर्थिक वर्षको साउनदेखि भदौ ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयले जम्मा रु. ५३ लाख राजस्व सङ्कलन गरेको थियो । उक्त ४० दिनमा कोरला नाकाबाट १६३ ईभी र १३३ मालवस्तु कन्टेनरको जाँचपास भएको थियो ।

    तर, भदौ १० गतेपछि २० दिनमै राजस्व सङ्कलन रु. २ अर्ब ५४ करोड ९३ लाख पुगेको हो ।

    चालु आर्थिक वर्षको साउन र भदौ गरी मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु. ३ अर्ब ७ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ । साउनमा रु. २६ करोड ३९ लाख सङ्कलन भएकोमा भदौमा मात्रै रु. २ अर्ब ८१ करोड ५४ लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ ।

    भदौ महिनामा मात्रै १ हजार २५३ ईभी कोरला नाका हुँदै नेपाल भित्रिएका छन् । ती सवारीसाधनबाट रु. १ अर्ब ९३ करोड ९७ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै, भदौमा ६९७ मालवस्तु कन्टेनरको जाँचपास भएको छ ।

    साउन महिनामा भने कोरला नाका हुँदै १०० ईभी नेपाल भित्रिँदा रु. १७ करोड ३४ लाख राजस्व सङ्कलन भएको थियो । सोही महिनामा ५७ वटा मालवस्तु कन्टेनर भित्रिएका थिए ।

    मुस्ताङ भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा १२ महिनामा रु. ६ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको थियो । उक्त वर्ष कोरला नाका हुँदै ३ हजार २२३ वटा ईभी नेपाल भित्रिएका थिए ।

    दुई प्रमुख उत्तरी नाका बन्द भएपछि कोरला नाकामाथि बढेको व्यापारिक निर्भरता र छोटो अवधिमै भएको उच्च राजस्व सङ्कलनले चीनसँगको वैकल्पिक व्यापारिक मार्गका रूपमा कोरला नाकाको सम्भावनालाई समेत देखाएको छ ।