• तनहुँ । लकडाउन समयमा दमौली अस्पतालमा सञ्चालित डायलाइसिस केन्द्रमा करीब दुई हप्ता रगत अभाव देखिए पनि अहिले आपूर्ति भएको छ । नेपाल रेडक्रस तनहुँ रक्तसञ्चार प्राविधिक सहयोगमा एक हप्ताका अवधिमा पाँच संस्थाले रक्तदान कार्यक्रममार्फत १३५ पिण्ट रगत संकलन गरी अस्पताललाई हस्तान्तरण गरेका छन् ।

    प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल तनहुँले ३०, नेपाल तरुण दलले ३०, जेसिआई दमौलीले २८, नेविसंघ तनहुँले ३६ र नेपाल रेडक्रस सोसाइटीले एक हजार एक सय पिण्ट रगत केही दिनअघि संकलन गरेका थिए । सिद्धार्थ बचत तथा ऋण सहकारीले भने ३६ पिण्ट संकलन गरी पोखरा पठाएको नेपाल रेडक्रस तनहुँ रक्तसञ्चार शाखाका प्राविधिक जसोदा थापाले जानकारी दिइन् । लकडाउन समयमा एकदुई हप्ता रक्ताभाव देखिए पनि डायलाइसिसका बिरामीलाई उपचार नरोकिएको उनले बताइन् ।

    दमौली अस्पतालमा सञ्चालित शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौलीमा केही समूहका रगत अभाव हुँदा उपचारमा समस्या भएको थियो । उक्त केन्द्रले ४१ पुरुष र २७ महिला गरी ६८ बिरामीलाई डायलाइसिस सेवा दिँदै आए पनि रगतको अभावका कारण उपचारमा समस्या भएको डायलाइसिस केन्द्र दमौलीका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिए । रासस