• कास्की । पोखरामा विभिन्न चार अस्पतालमा ज्वरो मापन (फिवर क्लिनिक) सञ्चालन गरिने भएको छ । कोरोना भाइरसबाट सम्भावित सङ्क्रमितको उपचारमा सघाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मणिपाल शिक्षण अस्पताल नदीपुर, चरक मेमोरियल अस्पताल नागढुङ्गा र पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा फिवर क्लिनिक सञ्चालन हुन लागेको हो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने यसअघि नै क्लिनिक स्थापना गरिएको थियो । क्लिनिकमा ज्वरो परीक्षणका आधारमा चिकित्सकबाट कोरोना जाँच ल्याब परीक्षणका लागि सिफारिस गरिनेछ । पोखरा स्वास्थ्य विज्ञानमा बिहान ९ देखि ३, चरकमा ९ देखि ५ बजे, गण्डकी मेडिकल कलेजमा ९ देखि ४ बजे तथा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म फिभर क्लिनिक सञ्चालन हुने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका सिनियर हेल्थ असिस्टेन्टले बताएका छन् । सामान्यरूपमा यसअघि पनि क्लिनिक सेवा प्रदान गरिए पनि अब सबै अस्पतालमा तोकिएको समयमा सर्वसाधारणलाई सेवा प्रदान गरिने बताइएको छ ।