

-
एउटा विमान । आकाशमा उडिरहेको एउटा विमानभित्र भएको एउटा घटनाले अहिले एउटा असहज प्रश्न खडा गरेको छ—अपराध विमानभित्र हुन्छ भने त्यसको मुद्दा कुन देशले हेर्छ ?
३० सेप्टेम्बरमा दुबईबाट तेलअभिभतर्फ उडेको फ्लाईदुबईको FZ1073 उडानमा भएको घटनाले यही प्रश्नलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।
बोइङ ७३७ म्याक्स विमानमा उडानका क्रममा ककपिटभित्र दुई पाइलटबीच हिंसात्मक घटना भयो। उपलब्ध विवरणअनुसार को-पाइलटले कप्तानमाथि ककपिटमा प्रयोग हुने आपतकालीन बन्चरोले आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झर्न थाल्यो । विमानले अन्ततः साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गर्यो। विमानमा रहेका यात्रु तथा चालकदलका सदस्यले स्थिति नियन्त्रणमा लिन सहयोग गरे र सबै १७२ यात्रु तथा चालकदल सुरक्षित रहे ।
तर विमान सुरक्षित अवतरण गरेपछि अर्को जटिल यात्रा सुरु भयो—कानुनी अधिकार क्षेत्रको यात्रा ।
एउटै विमान, तर किन यति धेरै देश ?
घाइते भारतीय क्याप्टेन। ओमानी को–पाइलट। UAE मा दर्ता भएको विमान। साउदी अरबमा आपत्कालीन अवतरण। इजरायलतर्फको उडान । र घटनाको एउटा महत्वपूर्ण कडी न्युजिल्यान्डमा भएको पाइलट प्रशिक्षणसँग जोडिँदै गएको छ। फ्लाई दुबईको FZ1073 घटना अब एउटा विमानभित्र भएको झगडा मात्र रहेन ।
यसले विश्वको हवाई पर्यटन, अन्तर्राष्ट्रिय विमान सुरक्षा र बहुराष्ट्रिय चालकदलको निगरानी प्रणालीलाई एउटै प्रश्न सोधेको छ—आकाशमा जोखिम उत्पन्न हुँदा अन्तिम जिम्मेवारी कसको ?
सेप्टेम्बर ३० मा दुबईबाट तेलअभिभका लागि उडेको FZ1073 मा को–पाइलटले क्याप्टेन स्मित मच्छरमाथि आक्रमण गरेपछि विमान असामान्य रूपमा तल झरेको थियो। घाइते अवस्थामा पनि मच्छरले ककपिटको ढोका खोल्न सफल भए। त्यसपछि यात्रु र विमानमा रहेका अतिरिक्त पाइलटहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिए र विमानलाई साउदी अरबको तबुकमा सुरक्षित अवतरण गराइयो।
सबै यात्रु बाँच्नु नै यो घटनाको सबैभन्दा ठूलो परिणाम हो । तर विमान सुरक्षित अवतरणसँगै अर्को जटिल यात्रा सुरु भयो—कानुन, सुरक्षा र अन्तर्राष्ट्रिय उड्डयन प्रणालीको।
एक विमान, छ देशसँग जोडिएको कथा
FZ1073 लाई केवल UAE–साउदी–इजरायलबीचको घटना भनेर बुझ्न सकिँदैन ।
१. UAE : विमान र मुख्य आपराधिक अधिकार क्षेत्र
विमान UAE मा दर्ता थियो र UAE को झण्डामुनि सञ्चालन भइरहेको थियो। त्यसैले UAE का महान्यायाधिवक्ताले विमानमा भएको अपराधमा UAE को कानुन लागू हुने र UAE न्यायिक निकायलाई अनुसन्धानको अधिकार रहेको बताएका छन्। घटनापछि UAE ले विशेष अनुसन्धान टोली गठन गर्यो ।
अझ महत्वपूर्ण रूपमा, UAE ले अक्टोबर ३ मा अनुसन्धानबाट को–पाइलटले आतंकवादी कार्य गर्ने प्रयास गरेको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ। यद्यपि उद्देश्य, सम्पर्क र योजनाको पूर्ण विवरणबारे अनुसन्धान जारी छ।
२. साउदी अरब : जहाँ विमान अवतरण भयो
विमान अन्ततः साउदी अरबको तबुकमा अवतरण गर्यो। प्रारम्भिक अनुसन्धानमा साउदी अधिकारीहरू संलग्न भए र दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगियो। त्यसपछि उनीहरू UAE फर्काइएका थिए। अर्थात् घटनाको भौतिक अन्त्य साउदी भूमिमा भयो।
३. इजरायल : गन्तव्य र सुरक्षा प्रणाली
FZ1073 को गन्तव्य तेलअभिभ थियो। घटनापछि इजरायली सुरक्षा निकायले पनि अनुसन्धान र सुरक्षा पक्षबाट चासो देखाएको छ।
यसले अर्को प्रश्न जन्माएको छ—कुनै देशको विमानस्थलमा अवतरण नगरे पनि त्यस देशतर्फ उडिरहेको विमानमा भएको सुरक्षा घटनामा गन्तव्य देशको भूमिका कति हुन्छ ? FZ1073 ले यही प्रश्नलाई फेरि सतहमा ल्याएको छ।
४. ओमान : आरोपी को–पाइलटको देश
आक्रमणको आरोप लागेका को–पाइलट हमाम अल–हमामी ओमानी नागरिक भएको रिपोर्टहरू आएका छन्। उनको विगतको उड्डयन करियर र सुरक्षा पृष्ठभूमि अहिले अनुसन्धानको महत्वपूर्ण विषय बनेको छ।
यससँगै एउटा गम्भीर अन्तर्राष्ट्रिय प्रश्न उठेको छ—एउटा देशमा पाइलटको सुरक्षासम्बन्धी जोखिम देखिएको भए त्यसको सूचना अर्को देशको एयरलाइन्स र नियामकसम्म कसरी पुग्छ ? यही प्रश्नमा ओमान, UAE र इजरायलका प्रणालीमाथि अहिले प्रश्न उठिरहेका छन्।
५. न्युजिल्यान्ड : प्रशिक्षणको कडी
आरोपी पाइलटले विगतमा न्युजिल्यान्डमा उड्डयन प्रशिक्षण लिएको विषय पनि अनुसन्धानको दायरामा आएको छ।
यसले पाइलटको लाइसेन्स एउटा देशले जारी गर्ने, प्रशिक्षण अर्को देशमा हुने, रोजगारी तेस्रो देशको एयरलाइन्समा हुने र अन्तर्राष्ट्रिय मार्गमा चौथो–पाँचौँ देश हुँदै विमान उड्ने आधुनिक उड्डयन संरचनाको कमजोरीतर्फ संकेत गर्छ।
६. भारत : घाइते क्याप्टेनको देश
FZ1073 का क्याप्टेन स्मित मच्छर भारतीय नागरिक हुन्। उनी पूर्व SpiceJet पाइलटसमेत हुन् र घटनामा गम्भीर घाइते भए पनि विमानको ककपिट ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र अतिरिक्त पाइलटहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन सके।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मच्छरको साहसको प्रशंसा गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उनलाई ‘हिरो’का रूपमा प्रशंसा गरेका थिए। त्यसैले भारतको भूमिका केवल ‘घाइते पाइलटको देश’ मा सीमित छैन।
यो घटनाले भारतीय पाइलटहरूको अन्तर्राष्ट्रिय श्रम बजार, भारतीय उड्डयन जनशक्तिको विश्वव्यापी उपस्थितिसमेत चर्चामा ल्याएको छ।
तर कानुनी हिसाबले एउटा महत्वपूर्ण अन्तर बुझ्नुपर्छ—भारतीय क्याप्टेन पीडित भएकै कारण भारतले स्वतः मुख्य आपराधिक अधिकार क्षेत्र पाउँदैन। घटनाको प्रमुख आपराधिक अधिकार क्षेत्रबारे UAE ले आफ्नो दाबी स्पष्ट गरिसकेको छ।
यसरी हेर्दा भारत ‘छैटौँ अधिकार क्षेत्र’ भन्दा ‘छैटौँ महत्वपूर्ण राष्ट्रिय सम्बन्ध’ हो। यही हो FZ1073 को असली नयाँपन विमान दुर्घटना हुँदा हामी सामान्यतया सोध्छौं—दुर्घटना कहाँ भयो ? तर FZ1073 ले प्रश्न बदलिदिएको छ।
अपराध कहाँ भयो ? ककपिटमा। विमान कुन देशको ? UAE को। आरोपी कुन देशको ? ओमानको। पीडित क्याप्टेन कुन देशका ? भारतका । विमान कहाँ अवतरण भयो ? साउदी अरबमा। गन्तव्य कुन देश थियो ? इजरायल। आरोपीको प्रशिक्षण कहाँसँग जोडिन्छ ? न्युजिल्यान्डसँग। यही कारण FZ1073 आधुनिक अन्तर्राष्ट्रिय हवाई यात्राको एउटा असाधारण केस बनेको छ।
अन्तर्राष्ट्रिय उड्डयन कानुनले के भन्छ ?
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को प्रणालीमा विमान दुर्घटना वा गम्भीर घटनाको अनुसन्धानमा घटना भएको देश, विमान दर्ता भएको देश, विमान सञ्चालकको देश तथा विमानको डिजाइन र निर्माणसँग सम्बन्धित देशहरूको भूमिका छुट्टाछुट्टै हुन सक्छ।
तर FZ1073 सामान्य ‘दुर्घटना अनुसन्धान’ मात्रै होइन। यहाँ सम्भावित आपराधिक घटना, विमान अपहरणको प्रयास, आतंकवाद र व्यक्तिगत आपराधिक जिम्मेवारीसमेत जोडिएका छन्। त्यसैले यो घटनामा एउटा प्रश्न प्राविधिक छ—विमान कसरी र किन असामान्य रूपमा तल झर्यो ?
अर्को प्रश्न आपराधिक छ—कसले के गर्यो, किन गर्यो र कुन कानुनअनुसार सजाय हुन्छ ? तेस्रो प्रश्न सुरक्षा सम्बन्धी छ—सम्भावित जोखिमबारे पहिल्यै जानकारी थियो भने त्यसलाई कसरी सम्बोधन गरियो ? यिनै तीन तहले अनुसन्धानलाई बहु-देशीय बनाउँछन्।
स्मरणरहोस् घटनाको वास्तविक कारण अझै पूर्ण रूपमा स्थापित भइसकेको छैन। UAE अधिकारीहरूले घटनाको कारण, उद्देश्य, सम्भावित आतंकवादी सम्बन्ध र पूर्वयोजना थियो कि थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्। UAE ले आधिकारिक अनुसन्धान पूरा नहुँदासम्म अनुमान र अपुष्ट सूचनाबाट बच्न पनि आग्रह गरेको छ।
पर्यटन उद्योगका लागि नमिठो पाठ
विश्व पर्यटनको ठूलो हिस्सा हवाई यातायातमा निर्भर छ। एक पर्यटकले दुबईबाट तेलअभिभ, दिल्लीबाट लन्डन, काठमाडौं हुँदै दोहा वा बैंककबाट सिड्नी उड्दा विमान, एयरलाइन्स, पाइलट, प्रशिक्षण संस्था, सुरक्षा निकाय र नियामक एउटै देशका हुँदैनन्।
यात्रुले टिकट एउटा देशको एयरलाइन्सबाट किन्छ। पाइलट अर्को देशका हुन सक्छन् । विमान तेस्रो देशमा दर्ता भएको हुन सक्छ। उडान चौथो देशको आकाशमा पुग्न सक्छ। आपतकालीन अवतरण पाँचौँ देशमा हुन सक्छ। र यात्रु तथा चालकदल दर्जनौं देशका नागरिक हुन सक्छन्।
FZ1073 ले यही विश्वव्यापी पर्यटन संरचनाको सबैभन्दा कमजोर कडी कहाँ छ भन्ने प्रश्न उठाएको छ। त्यसैले यो घटनालाई विश्वको पर्यटन उद्योगको लागि अहिलेसम्मकै सबैभन्दा नमिठो पाठ मानिएको छ ।
यस घटनापछि विश्वभरका एयरलाइन्स र नियामकहरूले उठाइरहेका प्रश्नहरु
पाइलटको सुरक्षा पृष्ठभूमिको अन्तर्राष्ट्रिय अभिलेख कसरी साझा गर्ने? एउटा देशमा उडानसम्बन्धी प्रतिबन्ध वा लाइसेन्ससम्बन्धी समस्या भए अर्को देशको एयरलाइन्सले कसरी थाहा पाउने ? अन्तर्राष्ट्रिय एयरलाइन्समा भर्ती हुने पाइलटको ‘global background check’ कति प्रभावकारी छ ? ककपिटभित्रको ‘insider threat’ का लागि छुट्टै सुरक्षा प्रोटोकल चाहिन्छ कि?
आपतकालीन अवस्थामा यात्रु र अतिरिक्त चालकदललाई कसरी परिचालन गर्ने? र, सबैभन्दा महत्वपूर्ण—बहुराष्ट्रिय उड्डयन अपराधमा अनुसन्धानको नेतृत्व कसले गर्ने? यी प्रश्नको उत्तर एउटै देशले दिन सक्दैन। त्यसैले FZ1073 केवल विमानको घटना होइन ।
यो घटनामा भारतीय क्याप्टेनको साहसले १७४ जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। तर उनको साहससँगै एउटा अर्को कुरा पनि उजागर भएको छ—आजको हवाई पर्यटन एउटा देशको प्रणालीले मात्र सुरक्षित रहन सक्दैन। विश्व पर्यटन अब केवल गन्तव्य र यात्रुको कथा रहेन; यो सीमापार सुरक्षा, साझा सूचना र अन्तर्राष्ट्रिय कानुनी जिम्मेवारीको पनि कथा हो ।
यदि FZ1073 पछि पाइलटको अन्तर्राष्ट्रिय पृष्ठभूमि जाँच, सुरक्षा सूचना आदानप्रदान र ककपिटभित्रको ‘insider threat’ सम्बन्धी नयाँ विश्वव्यापी मापदण्ड बने भने, आजको यो घटना भोलि विश्व पर्यटन तथा उड्डयन सुरक्षाको नयाँ नजिरका रूपमा सम्झिन सकिनेछ।
विचारणीय कुरा के छ भने विमान अपहरण वा अपहरण गर्ने प्रयाससँग सम्वन्धित घटना नयाँ होइन, बेला बेलामा भैरहन्छन् । तर, विगतका घटना २,३ वटा देशसँग सम्वन्धित हुन्थे । अहिलेको जस्तो ६ वटा देश जेलिएको घटना भने सम्भवतः पहिलो भएका हवाई उडडयन क्षेत्रका विज्ञहरुले बताइरहेका छन् ।
News Desk 0 response बुधबार, अशोज २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


