• काठमाडौं : स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो ।

    समितिले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा २० बमोजिम खुला प्रतिस्पर्धाबाट योग्य उमेदवार छनोट गरी ऐनको दफा २२ ९३० अनुसार कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गरिने जनाएको छ ।

    सार्वजनिक सूचना पहिलो पटक २०८३ असार ३१ गते प्रकाशित गरिएको हो । समितिका अनुसार आवेदन प्रक्रिया ‘स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक तथा छनोट सम्बन्धी कार्यविधि, २०८३’ अनुसार अघि बढाइनेछ ।

    इच्छुक उमेदवारले दरखास्त फाराम, योग्यता, छनोट प्रक्रिया तथा अन्य आवश्यक विवरण स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक बोर्डको प्रमुख कार्यकारी पद हो । यस पदले स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन, व्यवस्थापन तथा प्रशासनिक नेतृत्व गर्ने जिम्मेवारी वहन गर्ने व्यवस्था छ ।