• काठमाडौं : नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत धादिङको कृष्णभीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।

    त्रिशूली नदीले कटान गरेर सडक भासिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णभीर खण्डमा पर्सि बिहीवारदेखि दुईतर्फी गाडी चलाउने सडक विभागले जनाएको छ ।

    अस्ति आइतवारदेखि केही गाडी सञ्चालन भइरहेकोमा बिहीवारु बिहानदेखि पूर्णरूपमा सडक सञ्चालन गर्ने तयारी सडक विभागको छ ।

    बाढी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि २५० मिटर लामो नयाँ ट्र्याक बनाइएको हो ।

    अहिले सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक सङ्केत राख्ने काम भइरहेको छ ।

    सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनुका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट–फिस्लिङ खण्डमा पनि काम अघि बढाइएको छ ।