• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई हप्काएका छन् । हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविरामको घोषणा भएको छ।

    इसराइलले हिजबुल्लाहलाई लक्ष्य गरिएको भन्दै लेबननमा आक्रमण तीव्र पारेपछि ट्रम्पले नेतन्याहूलाई फोन गरेर हप्काएका थिए।

    त्यसपछि लेबननले हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविरामको घोषणा गरेको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।

    वासिङ्टनस्थित लेबनानी दूतावासका अनुसार यो सम्झौताले इरान(सञ्चालित हिजबुल्लाह र इसराइलबीच द्वन्द्व पूर्ण रूपमा अन्त्य भने गर्ने छैन।

    इरानले अमेरिकासँगको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताका लागि लेबननमा इसराइली आक्रमणहरू रोकिनुपर्ने माग गर्दै आएको छ।

    अमेरिकाले भने यी दुई द्वन्द्वहरू फरक भएको बताउने गर्छ। तर हिजबुल्लाहमाथि लगातारको इसराइली आक्रमणका कारण इरान(अमेरिका वार्ता भाँडिने खतरा भएपछि आक्रोशित ट्रम्पले नेतन्याहूलाई अपशब्द नै प्रयोग गरेर थर्काएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

    उनीहरूबीच सोमबार टेलिफोन संवाद भएको थियो। आक्रोशित भएर फोनवार्ता हुँदा ट्रम्प अत्यधिक रिसमा प्रस्तुत भएको त्यसबारे जानकार दुई अमेरिकी उच्च अधिकारी र अर्का एक स्रोतलाई उद्धृत गर्दै एक्सियसले लेखेको छ।

    फोन वार्ता सुरू हुनासाथ ट्रम्प ुतिमी के गरिरहेका छौरुु भनेर चिच्याएका थिए।

    ‘तिमी पागल हौ ? के गरेको ? म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ। तिमीलाई मैले बचाइरहेको छु। सबैले तिमीलाई घृणा गर्छन्। त्यसकारण इसराइललाई पनि अहिले धेरैले मन पराउन छाडेका छन्,’ ट्रम्पले नेतन्याहूलाई कड्किएर भनेका थिए।

    एक अमेरिकी अधिकारीका अनुसार त ट्रम्पले बेरुतमा आक्रमण योजना कार्यान्वयन गरे इसराइल विश्वभर थप एक्लिने चेतावनी समेत दिएका थिए भनेर एक्सियसले लेखेको छ।

    ट्रम्पले थर्काएपछि इसराइलले बेरूतमा हमलाको योजना नै रोकेको छ। त्यसपछि लेबननले हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविरामको घोषणा गरेको हो।