• सन् २०२१ मा झन्डै दुई करोड फिलिपिन्स नागरिक गरिबीको रेखामुनि बाँचिरहेका सोमवार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ । कोभिड–१९ महामारीको असरपछि आर्थिक मन्दीका कारण यो अवस्था आएको सर्वेक्षणले भनेको छ ।

    सन् २०२१ को पारिवारिक आय–व्यय सर्वेक्षणलाई उद्धृत गर्दै फिलिपिन्स तथ्याङ्क प्राधिकरण (पीएसए) ले यो जनसङ्ख्या प्रतिव्यक्ति आयले आधारभूत खाद्यान्न र गैर–खाद्य आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ । कुल जनसङ्ख्यामा यो अनुपात १८ दशमलव १ रहेको तथ्याङ्कले बताएको छ । यो आँकडाले लगभग दुई करोड नागरिकको प्रतिनिधित्व गर्दछ । फिलिपिन्समा झन्डै ११ करोड जनसङ्ख्या छ ।

    सर्वेक्षणले पाँच जनाको परिवारलाई उनीहरूको आधारभूत खाद्य आवश्यकताहरू पूरा गर्न प्रतिमहिना कम्तीमा ८,३७९ पेसो (लगभग १५० अमेरिकी डलर) आवश्यक पर्ने देखाएको छ ।