• काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सम्पति एक वर्षमा २६ लाख रुपैयाँले बढेको छ । गत मार्च ३१ तारिकसम्म प्रधानमन्त्री मोदिसँग कुल सम्पति २ करोड २३ लाख भारतीय रुपैयाँ (भारु) भन्दा बढी सम्पति रहेको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक पछिल्लो सम्पति विवरणमा उल्लेख छ ।

    मोदिसँग अधिकांश सम्पति बैंक निक्षेपको रुपमा रहेको छ । गान्धीनगरमा रहेको एक टुक्रा जग्गामा रहेको आफ्नो हिस्सासमेत दान गरेका कारण मोदिसँग अचल सम्पति भने नरहेको भारतीय सञ्चार माध्यम इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

    सन् २०२१ को मार्च ३१ मा रहेको १।१ करोड बराबरको अचल सम्पति भने हाल नरहेको उल्लेख छ । गत मार्च अन्तिममा मोदिसँग ३५ हजार २५० भारतीय रुपैयाँ नगदको रुपमा रहेको थियो । मोदिसँग १ लाख ८९ हजार भारु बराबरको इन्सुरेन्स पोलिसिसमेत रहेको छ । मोदिले कुनैपनि बन्ड, सेयर वा म्युचुअल फन्डहरुमा लगानी गरेका छैनन् । उनको नाममा कुनै पनि सवारी साधन छैन । तर १ लाख ७३ हजार रुपैयाँ भारु बराबरको ४ वटा सुनको औंठी रहेको मोदिको पछिल्लो सम्पति विवरणमा उल्लेख छ ।