• श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुगेका छन् । उनले आफ्नो श्रीमती समेत लिएर श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुगेका छन् । उनले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

    राष्ट्रपति गोटाबायाले आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले शासन सञ्चालन गर्नेछन् ।

    यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म बाहिर ननिस्कने अडान राखेका छन् ।

    सभामुखले आउँदो साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई गराएका छन् । त्यहाँ राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ । श्रीलङ्काले केही महिनायता आर्थिक सङ्कटको सामना गरिरहेको छ ।