• काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले गठबन्धनलाई आउँदो सङ्घ र प्रदेशको चुनावसम्म लैजानुपर्नेमा जोड दिएका छन् ।

    नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा सदस्यहरूले पार्टीले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताएका छन् । केन्द्रीय सदस्यहरूले गठबन्धनले समग्र परिणाममा राम्रो गरेकाले आउँदो चुनावसम्म यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका हुन् ।

    नेताहरूले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेका प्रवक्ता डा। प्रकाशशरण महतले बताए । त्यस्तै विगतको गठबन्धनबाट पाठ सिकेर साउनभित्रैमा गठबन्धनको विषयमा टुङ्गो लगाउनुपर्ने र भदौभित्रैमा पार्टीको टिकटको टुङ्गो लगाइसक्नुपर्नेमा नेताहरूले जोड गरेकका प्रवक्ता महतले जानकारी दिए ।

    उनले भने, ‘समग्रमा समीक्षा र आउँदा दिनमा कसरी पार्टी जानुपर्छ भन्ने विषयमै छलफल केन्द्रित छ । आज बोल्ने सबै साथीहरूले गठबन्धनलाई अगाडि बढाउनुपर्छ भन्नुभएको छ । समानुपातिक निर्वाचन प्रणालीका कारण पनि गठबन्धनको विकल्प छैन भन्नुभएको छ ।’

    प्रवक्ता महतले पार्टीप्रतिको असन्तुष्टि र फरक मत बाहिर नराख्न नेताहरूलाई आग्रह गरिएको बताए । उनले असन्तुष्टिहरू बैठकमा राख्न आग्रह गरिएको जानकारी दिए । उनले पार्टी एकताबद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठकभन्दा बाहिर राख्न नहुने उल्लेख गरे ।