• काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशको २० प्रतिशत क्षेत्रफल कब्जा गरेको बताएका छन् ।

    लक्जमबर्गको संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनको २० प्रतिशत भाग अर्थात् लक्जमबर्ग र नेदरल्यान्डको संयुक्त क्षेत्रफलभन्दा धेरै भूमि कब्जा गरेको बताएको बीबीसीले जनाएको छ ।

    युक्रेनको ६ लाख तीन हजार वर्ग किलोमिटर क्षेत्रमध्ये एक लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र रुसले कब्जा गरेको छ । यसमध्ये क्रिमिया र पूर्वी युक्रेनका केही भाग रहेका छन् । युक्रेनको सात प्रतिशत भूमिमा रहेको क्रिमियालाई रुसले सन् २००७ मै कब्जा गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिले एक हजार किलोमिटर लामो सीमा क्षेत्रमा खटिएर सेनाले देशको रक्षा गरिरहेको पनि बताएका छन् ।

    गएको फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता एक करोड २० लाख जना युक्रेनीले आफ्नो घर छाडेको जेलेन्स्कीले बताए । उनले ३० हजार जना रुसी सेना मारिएको पनि दाबी गरेका छन् । तर रुसले भने आफ्ना १३ सय जना सैनिक मात्रै मारिएको दाबी गर्दै आएको छ ।