• नयाँदिल्ली । भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका थिए । उनको मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको थियो ।

    भारतको स्थानीय समय अनुसार बिहीबार बेलुका ६ः५० मा उनले फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा संसार त्यागेका हुन् ।

    दलित समुदायका अति प्रभावशाली नेता मानिने ७४ वर्षीय पासवान लोक जनशक्ति पार्टीका संस्थापक समेत थिए । उनले झण्डै पाँच दशक लामो राजनीतिक तथा सामाजिक सेवाका क्रममा आफ्नो समुदायको अधिकार र संरक्षणका लागि आवाज उठाउँदै आएका थिए ।

    उनले सन् २००० मा स्थापना गरेको पार्टीको अहिले उनकै ३७ बर्षीय छोरा चिराग पासवानले नेतृत्व गरेका छन् ।

    उनको निधनप्रति देश विदेशबाट दुःख व्यक्त गर्दै धेरैले समवेदना प्रकट गरेका छन् । भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पार्टीका नेता, विदेशी नियोगका प्रतिनिधिलगायतले श्रद्धान्जलि व्यक्त गरेका छन् । पिटिआई