• काठमाडौं : नेपाल वायुसेवा निगमले चार इन्जिन मर्मतका निम्ति करिब आठ अर्ब रुपैयाँको आवश्यकता औँल्याउँदै खरिद प्रक्रियामा रहेको नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरेको छ । शुक्रबार (असोज १६) बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विद्यमान कानुनी प्रावधानका कारण इन्जिन मर्मत र खरिद कार्यमा अवरोध सिर्जना भएको बताएका हुन् ।

    “चारवटा इन्जिन मर्मतका लागि करिब आठ अर्ब रुपैयाँ आवश्यक पर्नेछ,” उनले भने, “यसका लागि स्रोत व्यवस्थापन र खरिद प्रक्रियामा उच्चस्तरीय नीतिगत सहजीकरण आवश्यक छ ।”

    निगमले हाल भोगिरहेको प्राविधिक र वित्तीय संकटबारे जानकारी दिँदै उनले बिड बन्ड, पफर्मेन्स बन्ड र अग्रिम भुक्तानीसँग सम्बन्धित कानुनी प्रावधानले काममा गम्भीर असर पुर्‍याइरहेको उल्लेख गरे । हालै प्राविधिक समस्याका कारण ‘वाइडबडी’ विमान ‘ग्राउन्डेड’ हुँदा निगमले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले सुनाए ।

    जापान उडानका क्रममा देखिएको समस्याले करिब २४ करोड रुपैयाँबराबरको राजस्व गुमेको छ । इटालीमा मर्मतका क्रममा रहेको अर्को विमानमा समेत थप प्राविधिक जटिलता देखिएको छ । समस्या समाधान गर्न हाल पार्ट्स लिजमा लिएर विमान सञ्चालनको प्रयास भइरहेको निगमले जनाएको छ ।

    “जापानमा भएको घटनाबाट करिब ६ वटा उडान प्रभावित भई करिब २४ करोड रुपैयाँ राजस्व क्षति भएको अनुमान छ,” उनले भने, “इटालीमा मर्मत भइरहेको जहाजमा पनि थप प्राविधिक समस्या देखिएको छ, जसका लागि पार्ट्स लिजमा लिएर समाधान अघि बढाइएको छ ।”

    उनले वायुसेवाको समस्यालाई नाफाघाटाको साँगुरो घेराबाट मात्र हेर्न नहुनेमा जोड दिए । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न फ्लीट विस्तार र आधुनिकीकरण अपरिहार्य रहेको उनले बताए । उनले दुर्गम क्षेत्रको सेवालाई समेत निरन्तरता दिनुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।

    “एमए–६० र वाई–१२ चिनियाँ जहाजहरू व्यावसायिक रूपमा सञ्चालन गर्न नसकिएकाले तिनको बिक्री, लिज वा अन्य व्यवस्थापनबारे पनि यथाशीघ्र निर्णय आवश्यक छ,” उनले भने ।