• वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आज बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले बताए ।

    मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ८ः०० बजे आरडिटी पोजेटिभ आएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार शुरु गरिएको अर्का डा उदयनारायण सिंहले बताए ।

    शनिबार नै नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती वृद्धको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकिएको थियो । हालसम्म रिपोर्ट आएको छैन । मृत्यु भएका ती वृद्ध आदर्शनगरका व्यापारी रहेका र मुटु तथा मधुमेह रोगका बिरामी रहेको उपचारमा संलग्न चिकित्सक डा नीरजकुमार सिंहले बताए । मृत्यु भएका वृद्ध भारतीय नागरिक हुन् । वृद्धको शवलाई अस्पतालमामै राखिएको छ । साँझसम्म पिसिआर परीक्षणको रिपोर्ट आइसक्ने चिकित्सकले जनाएका छन् ।