•  

    ०५७ सालमा प्रवेशिका परिक्षा दिएर दरवारमार्गको एउटा होटलमा भाँडा मस्काउँदै गर्दा भीमप्रसाद आरणलाई फुटेको गिलास जस्तै जिन्दगी लाग्थ्यो । आफ्नै नाममा रेष्टुरेन्ट होला भनेर उनले कल्पना पनि गरेका थिएनन् । तर, अहिले आरणले मेहनत गरे जे पनि हुन्छ भन्ने शिक्षा अरुलाई दिन थालेका छन् । काठमाडौंमा भाँडा माझेर जिन्दगी चलाउन नसक्ने भन्दै उनी रामेछाप पनि फर्किए । तर, उनको काम गर्ने अठोटले पुनः काठमाडौं फर्कायो । फेरि रेष्टुेन्टमै काम गर्ने उनको इच्छा जाग्यो । पहिले भन्दा अलि फरक काम उनले पाए । पकाउने मान्छेको सहयोगीका रुपमा काम पाएपछि भने उनको जिन्दगीका नयाँ कदम आएको छ । कुकको सहयोगी हुँदाहुदै आरणले धेरै परिकार पकाउने कला सिके र अहिले त्यही कलाका कारण भीमप्रसाद कामदार वाट रेष्टुरेन्ट साहु वनेका छन् । त्यो पनि एउटा मात्र होई तीनवटा ।
    कुक वनेर काम गर्दा केही रुपैयाँ संकलन गरेका भीमप्रसादलाई आफ्नै ब्यवसाय गर्ने झोक चल्न थाल्यो । र, आफू संग भएको केही पैसा र सहकारीमा ऋण लिएर ब्यवसाय गर्न जोस्सिएका भीमप्रसादलाई कुन ठाउँमा ब्यससाय सञ्चालन गर्ने भन्ने चिन्ताले सतायो । खोज्दै जाँदा पुतलीसडकमा एउटा फास्टफुड पसल भेटे । र, तुरुन्तै त्यसलाई खरिद गरे । एक्लै काम गर्न गाह्रो हुने भएकाले उनले एकजना भरपर्दो साथीलाई साझेदार पनि वनाए । ‘रेष्टुरेन्ट त किनियो तर, ग्राहक नआएर वन्द हुन लागेको पो रहेछ’–भीमप्रसाद भन्छन्,–यो रेष्टुरेन्ट सञ्चालन गर्न खुव मेहनत गर्नुपरेको थियो ।’
    वन्द हुनै लागेको यो रेष्टुरेन्ट भीमप्रसाद र उनका साथीको मेहनतका कारण नाफा दिने हुन थाल्यो । त्यसपछि उनीहरुमा खुशीको सीमा रहेन ।
    आफूले पहिले पकाउने काम सिकेका कारण बन्द हुन थालेको रेष्टुुरेन्टले पुर्नजिवन पाएको आरणको तर्क छ । भन्छन्,‘काम गर्नु पहिले त्यसमा आफ्नो दक्षता भए सफल हुन गाह्रो पर्दैन ।’
    यही कामले दिएको नाफाले उनीहरुलाई अर्को ब्यवसाय सुरु गर्ने भोक जाग्न थाल्यो । केही रकम जम्मा गरेर वसेका भीमप्रसादको जोडीले पुतलीसडकको चोकमै अर्को पसल फेला पार्यो । तर, उनीहरुको भाग्य नै त्यस्तो ग्राहक नआएर विजोग अवस्थामा पुगेको किम्ची फाष्टफुडमा पो लगानी परेछ । यहाँको लगानी चाहि निक्कै जोखिममा परेको भीमप्रसादको अनुभव छ । त्यही वेला ठूलो भुकम्प आयो । पसल रहेको घर समस्यामा परेपछि झण्डै निराश भएका भीमप्रसादले तुरुन्तै अर्को ठाउँको खोजी गरे । खोज्दै जाँदा अनामनगरमा एउटा रेष्टुरेन्ट बिक्रीको सूचना पाए र तुरुन्तै खरिद पनि गरे । तर, फसाद त्यो पनि वन्द हुने तरखरमा पो पुगेको रहेछ । आफ्नो सीप र मेहनतले त्यसलाई पनि किम्चीकै ब्राण्ड दिएर भीमप्रसादले अहिलेसम्म गजवले चलाईरहेका छन् । र, पुतलीसडकमा किम्चीकै ब्राण्डमा अर्को शाखा पनि भर्खरै सञ्चालनमा ल्याएका छन् ।
    १८ बर्ष पहिले अर्काको भाँडा मस्काउने जागिर खाएका भीमप्रसादले अहिले आफैले ७५ जनालाई रोजगारीको अवसर दिएका छन् । आफूले सुरुमा ८ सय रुपैयाँ एक महिनाको तलव लिएका भीमप्रसादको ब्यवसायमा ३५ हजार रुपैयाँसम्म मासिक तलव लिने कर्मचारी छन् ।
    आफूले गरेको काममा पूर्ण सन्तुष्टी रहेका आरण नेपाली युवा बिदेश गएर दुःख गर्नुपर्ने अवस्थामा नरहेको तर्क गर्छन् । ‘सीप मेहनत र लगनशील मान्छेलाई नेपालमा कुनै समस्या छैन,’ उनी भन्छन्–मेहनत नै सफलताको मुख्य आधार हो ।’
    जापान लगायतका देशमा पुगेर नेपालीहरुले बिदेशमा गरेको कामको प्रत्यक्ष अवलोकन गरेर फर्किएका भीमप्रसादले नेपाल जस्तो कामको सहजता कतै पनि देखेनन् । तर, यहाँ दक्ष कर्मचारीको समस्या रहेको उनको अनुभव छ । र, काम गरेर तुरुन्तै अरु ठाउँ जाने कर्मचारीका कारण पनि उनी समस्यामा छन् । तथापि रेष्टुरेन्टमा आवश्यक पर्ने काम सवै आफैले जानेका कारण तुरुन्तै समाधान भएको छ ।
    ग्राहकलाई फरकखाले स्वाद दिनका लागि सधै सोचिरहने भीमप्रसादले भने जस्तो ब्यवसाय अझै गर्न सकेका छैनन् । गाउँले स्वादका परिकारहरु निर्माण गरेर ग्राहकलाई सेवा गर्ने उनको औधी ईच्छा छ । तर, कर्मचारी अभावका कारण त्यो पुरा हुन सकेको छैन । किम्ची ब्राण्डलाई देशभर पुर्याउने योजना र उदेश्य लिएका भीमप्रसादलाई टिमले साथ दिएमा किम्ची ब्राण्डलाई रेष्टुरेन्टदेखि बैंकेटसम्म चलाउने रहर छ । र, यो काम पनि छिट्टै पुरा हुने उनले सपना देखेका छन् ।
    पैतिस वर्षकै उमेरमा सफताको एउटा बिन्दुमा पुगेका भीमप्रसाद काम सानो र ठूलो भनेर अपमान गर्न नहुने तर्क राख्छन् ।
    अहिले आफ्नो पसलका अलवा बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा हुने सेमिनारहरुमा खाजाको ब्यवस्था उनले गर्दछन् । जुनसुकै सरकारी कार्यालयमा पनि भीमप्रसाद पुगेपछि उनको ब्यवहारले सन्तुष्टी दिएको प्रतिकृया आएका छन् ।
    निरन्तर मेहनतका कारण काठमाडौंमा आधारभूत आवश्यकताका साधन पनि उनको कमी छैन । यति धेरै ब्यवसायमा लगानी गरेर पनि काठमाडौंमा सुबिधायुक्त नै आवास निर्माण गरेका छन् । बिरामी हुँदा उपचार गर्न कसैको दैलो चहार्नु पर्दैन । बालबच्चाका लागि आवश्यक स्वास्थ्य र शिक्षाका लागि पनि कसैलाई गुहार माग्नु परेको छैन । सरकारले मापसे चेकिङमा कडाई गरेपछि भने रेष्टुरेन्ट ब्यवसायमा केही समस्या आएको आरणको अनुभव छ । सधै फरक स्वादका परिकार वनाउन सोचिरहने आरणले किम्ची ब्राण्डको अचारका कारण पनि फरकपन देखिएको खुलसा गरे । त्यसैले पनि उनको ब्यवसाय फष्टाएको छ । कोरियन अचारको नाम किम्ची (जुन च्वास्स अमिलो हुन्छ ) त्यही अचार जस्तै आफ्नो ब्यवसायलाई फरकपनको पहिचान दिने आरणको सफलता पनि फरकधार बाट नै अघि बढिरहेको छ ।