• काठमाडौं : नेपाल बाल सङ्गठन (बाल मन्दिर)को जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा ८ जनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयले सङ्गठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै आज अभियोगपत्र दर्ता गरेको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

    बाल सङ्गठन काठमाडौंकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, सङ्गठनका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य र भगवान शाक्य, तत्कालीन सभापति युरीकुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारविरुद्ध मुद्दा दायर भएको छ ।

    प्रतिवादी ८ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन् । बाँकी ५ जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

    सङ्गठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकाले प्रतिवादी बनाइएको छैन । उच्चस्तरीय जाँचबुझ आयोग २०७७ को प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता भएको हो ।