• काठमाडौं : मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल ९एमसीए० ले आज नुवाकोटमा २ वटा सबस्टेशन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ ।

    अमेरिकाको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर अर्थात् कुल झन्डै १ खर्ब २९ अर्ब रुपैयाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजनाअन्तर्गत रातमाटे र न्यु दमौली सबस्टेशन निर्माण हुनेछ । यसका साथै लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा, रातमाटे–न्यु दमौली र न्यु दमौली–न्यु बुटवल गरी ३ वटा खण्डमा प्रसारण लाइन बन्नेछ ।

    अर्थ मन्त्रालयका सचिव एवम् एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रवर्द्धनका लागि प्रसारण पूर्वाधार सुदृढ पार्नु अपरिहार्य रहेकोमा जोड दिए ।

    नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी कम्प्याक्टमार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घरपरिवार, कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताए।

    निर्माण सम्पन्न भएपछि रातमाटे र न्यु दमौली सबस्टेशन नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज सबस्टेशनमध्ये पर्नेछन् । यस पूर्वाधारले राष्ट्रिय विद्युत् ग्रिड सुदृढ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा राखिएको छ ।