• काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै देशका अन्य प्रदेशका एक–दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले पर्वतीय क्षेत्रमा यात्रा गर्ने तथा पशुचौपाया चराउन जानेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा तथा तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ ।

    भोलिका लागि पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । देशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा तथा तराई क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    दिउँसोपछि मौसम केही सक्रिय बन्ने सम्भावना रहेकाले पहाडी क्षेत्रमा सडक यात्रा गर्दा सावधानी अपनाउन महाशाखाको आग्रह छ । भोलि राति र पर्सि बिहान हावाहुरीको समेत सम्भावना छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको हो । साथै बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई ठाउँमा पनि वर्षा र हिमपातको सम्भावना छ ।

    प्रिमनसुनको समयमा दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।