• काठमाडौं : सरकारले हप्तामा दुई दिन बिदा दिएपछि त्यसको सबैभन्दा ठूलो असर विद्यालय शिक्षामा पर्ने अभिभावक तथा नीजि विद्यालय सञ्चालकहरुले बताएका छन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै विद्यालयहरूलाई आउँदो वैशाख १५ बाट भर्ना अभियान थाल्न र २१ गतेबाट मात्रै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरू गर्न भनेको छ ।

    एकातिर दुई दिन बिदा र सँगै नयाँ शैक्षिक सत्र समेत अघिल्लो वर्षको भन्दा पछाडि सारिएपछि शिक्षामा समस्या आउने चिन्ता बढेको हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले त निर्णय नै गरेर वैशाख २ गतेदेखि नै भर्ना शुरू गरेर साविककै समयमा पढाई सुरू गर्ने बताएको छ ।

    यस्तै विद्यालयसहित सबै कार्यालय हप्तामा ६ दिन खुल्ला गर्ने गाउँपालिकाको निर्णय छ । प्रधानअध्यापक सङ्घका अध्यक्ष सुदनप्रसाद गौतम दुई दिन बिदा हुँदा पाठ्यभारमा असर पर्ने बताउँछन् । उनका अनुसार पाठ्यक्रम विकास केन्द्रले २ सय २० दिनको पाठ्क्रयम बनाएको छ । अब ५२ दिन थप बिदा हुँदा त्यो पूरा गर्न सकिँदैन ।

    विकसित देशहरुमा हप्तामा तीन चार दिन पढाएका उदाहरण पनि छन् । तर हाम्रोमा त्यो हैसियतको शिक्षक तयार भइनसकेको विज्ञहरु बताउँछन् । पेट्रोलियम पदार्थको सङ्कट भएको बेला विशेष व्यवस्था गरे पनि अहिले नै हाम्रो शिक्षा प्रणाली हप्तामा पाँच दिन पढाउने गरी तयार नभइनसकेको उनीहरुको भनाइ छ ।