• नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको प्रमुखमा अहिले सहकुल थापा छन् । धेरै जिल्लामा कमाण्ड समालेर यो महाशाखा आएका थापाको अगाडि शन्ति सुरक्षा कायम गर्न धेरै चुनौती पनि थियो । तमाम चुनौतीलाई चिर्दै थापाले कुशलतापूर्वक अपराध र अपराधीलाई कार्वाहीको दायरामा ल्याएका छन् । उनको नेतृत्वमा भएको २०७६ साल वैशाख २७ गतेदेखी माघ १५ सम्मको घटना अनुसन्धान हेर्ने हो भने पनि आधुनिक प्रणाली प्रयोग गरेर भएका अपराध धेरै देखिन्छ । यस महाशाखाबाट अनुसन्धान भएका बिभिन्न फाईलहरुको अध्ययन गर्दा नेपाल प्रहरीका लागि साईवर सम्वन्धि अपराध धेरै चुनौती रहेको छ । साईवरको गलत प्रयोग गरेर हुने अपराधलाई निर्मूल पार्न निक्कै कठिन हुने उदाहरणहरु पनि देखिएका छन् । बैकिङ प्रणालीमा दुरुपयोग गरेर गरिने ठगी सवैभन्दा खतरा देखिएको छ । त्यसमा स्वदेशी भन्दा पनि बिदेशी अपराधीहरुले यहाँको खुकुलो प्रणालीको फाईदा उठाएर धेरै ठगेका छन् । यसका बाबजूद पनि एसएसपी थापा नेतृत्वको महाशाखाले सुरक्षामा खलल पार्नेदेखि आर्थिक ठगी गर्नेसम्मलाई कार्वाहीको दायरमा ल्याएको छ । थापाको नेतृत्वमा भएका कामको नालिबेली यस्तो छ
    सुरुमै नयाँ रहस्य
    अपराध महाशाखाको कमाण्ड समाले लगत्तै अनौठो अपराध आईलाग्यो । छोरीले पालेको आमाको हत्या भएको यो अलि फरक खालको अपराधमा नयाँ रहस्य पत्ता लाग्यो । प्रेमीलाई पैसा दिएर आमाको हत्या गरेको तथ्य पत्ता लगाएपछि अपराध महाशाखाप्रति जनबिश्वास अझै बढ्न थालेको हो । भक्तपुरको चाँगुनारायणमा आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेकी थिईन । सावित्री भट्टराईको हत्यामा संलग्न भएको आरोपमा मृतककी कान्छी छोरीसहित चारजनालाई प्रहरीले सार्वजनिक गरेको थियो ।
    ठगीको नयाँ रहस्य
    उपभोक्ता संरक्षण मञ्च र बालाजु, स्वयम्भू र महाराजगञ्जका केही व्यक्तिले अनौठो तरिकाले आफूहरू ठगिएको उजुरी दिन आए । उनीहरूले आफूले घर बनाउन आवश्यक पर्ने इँट्टा, बालुवा चिप्स ढुंगा आवश्यक परिणामभन्दा कम आपूर्ति भएको र डिपोहरूले आफूहरूलाई ठगी गरेको बताए । उपभोक्ताहरूले ‘बाघे’ उर्फ सुकबहादुर तामाङ जस्ता गुण्डा नाइकेहरूले चलाउने डिपोहरूबाट आफूहरू ठगीएको प्रहरीलाई बयान दिए । उपभोक्ताहरूको उजुरी पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न स्थानमा रहेको डिपोमा छापा हान्यो । छापा हान्दा प्रहरीले अनौठो तथ्य फेला पारेको थियो । डिपोले ढुवानी गर्ने मिनिट्रकमा ५ इन्चसम्म फलाम र काठ राखेको पाइयो । एकपटक ढुवानी गर्दा प्रतिमिनिट्रक उपभोक्तालाई १६सयदेखि २२ सयसम्म घाटा हुने रहेछ । एउटा मिनिट्रकमा १०० क्युफिट प्रतिढुवानी गर्नुपर्ने देखिए पनि डिपोले ८२।६३ क्युफिट मात्र ढुवानी गरेर उपभोक्तालाई ठगी गरिरहेको थियो । सामान्यतया एउटा घर बनाउन ३० लाख पर्छ भने डिपोको ठगी गर्दा थप १० लाख पर्ने देखिएको छ । प्रहरीमा उजुरी दिन डराउने उपभोक्ताहरूले पनि प्रहरीमा आएर उजूरी दिनु पर्दछ । यस बापत क्षतिपूर्ति पाईन्छ । ठगी गर्ने डिपोहरूलाई पाँच वर्षसम्मको जेल र विगो रकम क्षतिपूर्ती दिनुपर्ने प्रावधान रहेको छ ।
    बिद्युतीय अपराध बढ्दै
    चिनियाँ ह्याकरहरूले नेपाली बैंकका एटीएम कार्ड प्रयोग गरेर करिब डेढ करोड चोरेका विवरण आयो । त्यसमा पनि प्रहरीले सफलता प्राप्त गरेको छ । यस्तै प्रकृतिको अरु पनि अपराध आएका छन् । बैंकको प्रणालीमा ह्याक गरेर आफ्ना एजेन्टको खातामा रकम ट्रान्सफर गराउने गिरोह फेला पारिएको छ । योजनाकार अफ्रिकी मुलको पिटर भनेर यिनीहरूको कुराकानी भएको देखिन्छ । ती व्यक्ति अहिले भारतमा छन् भन्ने कुरा आएको छ । त्यहाँबाट झिकिएको पैसा पनि भारतमै हुण्डी गरेर पठाएको देखिन्छ । अब त्यो पिटर भन्ने व्यक्ति को हुन् भनेर हाम्रो अनुसन्धान जारी छ । ती योजनाकारले सन्देशहरू आदानप्रदान गर्ने एपहरू हवाट्सएप तथा वीच्याटमा आफ्ना एजेन्टहरूसँग कुराकानी गरेको देखिएको छ । जसमा पाँच अर्ब रुपैयाँसम्म चोर्ने योजना बनाईएको छ । जसमध्ये झण्डै पाँच करोड रूपैयाँ एजेन्टहरूको खाता ट्रान्सफर भइसकेको र त्योमध्ये ७० लाख रुपैयाँ खाताबाट पनि झिकिएको छ । त्योमध्ये ६० लाख प्रहरीले बरामद गरिसकेको छ । बाँकी १० लाख चाहिँ भारत पठाइएको देखिन्छ । नेपालको बैंक तथा वित्तीय संस्थाहरू ह्याकरहरूको निसानामा लगातार पर्दै आएको छ । कसैले फोन गरेर माग्छ कसैले इमेल गरेर मागेको उजुरी धेरै छन् ।
    शहरका गुण्डा गाउँ भागे
    अहिले हाम्रो निशानामा गुण्डाहरु छन् । अहिले उपत्यकाका धैरैजसो प्रहरी कार्यालयमा ‘गुन्डागर्दी’को उजुरी कम छ । यस्तो उजुरी नआउनुमा गुन्डाहरू जिल्ला तथा गाउँ प्रवेश मुख्य कारण हो । संघीय संरचनामा परिवर्तन भएसँगै स्थानीय तथा प्रदेश सरकार गठनपछि काठमाडौँ उपत्यकामा सक्रिय गुन्डाहरू सहरबाट विस्थापित भई जिल्ला र गाउँ पुगेका हुन् । प्रहरीकै सक्रियताका कारण गुन्डाहरू पलायन भएको स्पष्ट हो । धेरैजसो गुन्डा प्रहरीको ‘इन्काउन्टर’बाट जोगिन उपत्यका छोड्न बाध्य भएका छन् । गुन्डागर्दीको समस्या उपत्यकामा छैन । सरकारले सहरी क्षेत्रमा जग्गा प्लटिङ, कित्ताकाट, चन्दा आतंक, बालुवा र क्रसर उद्योग सञ्चालनलगायतका क्षेत्रमा हुने गुन्डागर्दी नियन्त्रण गर्न नयाँ रणनीति अपनाएसँगै आर्थिक आयआर्जनको अवसर खोज्दै गुन्डाहरू ग्रामीण क्षेत्रमा पलायन भएका हुन् । विशेषगरी उपत्यकाको छिमेकी जिल्ला नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, चितवन, रामेछाप, रसुवा र गोरखामा गुन्डागर्दी हुने गरेको छ । ती जिल्लाका केही जनप्रतिनिधिको कमजोरीका कारण गुन्डागर्दी हुन थालेको छ । क्रसर उद्योग, बालुवा खानी, डोजर, टिप्पर र विकास निर्माणसम्बन्धी ठेक्का सञ्चालन जनप्रतिनिधि र गुन्डाहरूको संयुक्त लगानीमा हुने गरेको समाचारहरु आएका छन् । धेरैजसो स्थानीय जनप्रतिनिधि गुन्डाको सङ्गतले ‘ठेकेदार’ बनेको पनि समाचार पढ्न पाइन्छ । नुवाकोट, धादिङ, काभ्रे र गोरखा जिल्लाका जनप्रतिनिधिको संलग्नता बढी देखिएको छ । जिल्लामा सक्रिय गुन्डाहरूलाई राजनीतिक पार्टी र स्थानीय जनप्रतिनिधिबाट नै संरक्षण हुने भएकाले पीडितहरू उजुरी गर्न समेत डराउने गरेको पाइएको छ । विगतका वर्षको तुलनामा गुन्डागर्दी घटेको छ तर पूर्ण नियन्त्रण भने भएको छैन ।
    अपराध महाशाखाले गरेको पछिल्लो प्रमुख काम
    १, सार्बजनिक सवारी साधनमा आफ्नो लिङ्ग निकाली हस्तमैथुन गरी महिलाको कपाल तथा शरिरमा बिर्य स्खलन गराई अश्लिल भिडियो बनाउने पक्राउ
    २, सुर्तिजन्य बस्तु तथा पानको मसलाहरु समेतको राजश्व छली गरी चोरी पैठारी गर्ने पक्राउ
    ३, निर्माण सामाग्री ढुवानी गर्ने साधनको ढाला सतह भन्दा माथि उठाई सामाग्री ठग पक्राउ
    ४, कृषि विकास बैंकको सिस्टममा पहुँच राखेर रकमान्तर गरेर बैंकलाई नोक्सानी गर्ने गिरोह पक्राउ
    ५, काठमाडौंका बिभिन्न स्थानमा महिलालाई तिखो बस्तुले खोपेर घाईते बनाई आतंक सिर्जना गर्ने गिरोह पक्राउ
    ६, अनलाईन मार्फत बहुमुल्य सामानहरु पठाईदिने भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ
    ७, हिरासमेतका बिभिन्न पत्थरहरुको कारोबार गर्ने ब्यक्तिहरु पक्राउ
    ८, उत्श्रृंखल भिडियो निर्माण गरेर सामाजिक सञ्जालमा राख्ने ब्यक्ति पक्राउ
    ९, बिभिन्न सरकारी कार्यालयको नक्कली कागजपत्र तयार गरेर ठग्ने गिरोह पक्राउ
    १०, लामो समयसम्म रहस्यमा रहेको पूर्वराजदूत केशव झाको हत्यामा संलग्न ब्यक्तिका बारे अनुसन्धान र पक्राउ
    ११, जापानी नागरिकको डेरामा पसेर डाँका गर्ने गिरोह पक्राउ
    १२, सामाजिक सञ्जालमार्फत गठी गर्ने गिरोह पक्राउ
    १३, एनसेल कार्यालय अगाडि बम बिष्फोट गर्ने गिरोहलाई अनुसन्धान गरी पक्राउ
    १४, भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्यामा संलग्न उनकै छोरी र प्रेमी पक्राउ
    १५, सुनचाँदी पसलमा डाँका गर्ने गिरोहको पहिचान गरी पक्राउ
    १६, गैरकानुनी रुपमा नेटवर्किङ ब्यवसायमा संलग्न भारतीय नागरिकहरु पक्राउ
    १७, गुण्डागर्दी र धाकधम्की दिने गिरोहको पहिचान र पक्राउ
    १८, राजस्व छलेर सुनको कारोबार गर्ने गिरोह पक्राउ
    १९, नक्कली लाईसेन्स निर्माण गर्ने गिरोहको अनुसन्धान गरी पक्राउ

    अन्त्यमा,
    अपराधको प्रकृति फरक भईरहेको छ । सर्वसाधारण धेरै ठगिएका छन् । बिद्युतीय कारोवारमा पनि नयाँ शैलीले ठग्ने क्रम छ । यसका लागि आफै पनि सचेत हुनु पर्छ । हरेक नागरिक सचेत हुने हो भने ठग्न बाट जोगिन्छ । कुनै पनि प्रकारको अपराध भएको थाहा भए खवर गर्नुस हामी त्यस्ता ब्यक्तिलाई कार्वाही गरेर पीडितलाई न्याय दिन्छौं । सानादेखि ठूलासम्म कोही पनि ठगिनु हुन्न । कसैले पनि अपराध गरे जोगिनु हुन्न भन्ने मान्यतामा साथ प्रहरी अघि बढिरहेको छ । यसमा सर्वसाधारणको पनि उत्तिकै सहयोगको आवश्यकता छ । जनप्रशासन पाक्षिकबाट